गाउँपालिकाले समयमा रकम भुक्तानी नगर्दा निसीखोलाबासी स्वास्थ्य बीमाको सेवाबाट वञ्चित


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७९ मा प्रकाशित




बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् ।

सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् ।

गाउँपालिकाले पहिलो चरणको रु ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट रु दुई करोड बजेट विनियोजन गरेको थियोे ।

स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण सङ्कलन गरिसकेको छ । विवरण सङ्कलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए ।

सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ ।

गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । “प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ” चन्दले भने ।

पञ्चकोटमा विराट महायज्ञ

बागलुङ नगरपालिका–६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा मङ्गलबारदेखि विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञ सुरु भएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको महायज्ञ यसपटक सञ्चालन गरिएको हो ।

महायज्ञको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले धार्मिक गतिविधिमार्फत् पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए । पञ्चकोटसँगै नगरक्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सदैव नगरपालिकाको साथ रहने बताउँदै उनले भने,–“समृद्धि र विकासमा सबै एकजुट हुनुपर्छ ।”

सो अवसरमा बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्री, वडा नंं ६ का पूर्ववडाध्यक्ष खिमराज सापकोटा र पञ्चकोट विकास समितिका पूर्वप्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मालगायतले बोलेका थिए । महायज्ञ यही फागुन १५ गते सम्पन्न हुने पञ्चकोट विकास समितिले जनाएको छ ।

महायज्ञको हरेक दिन बिहान ६ बजे महायज्ञस्थलमा पुजन प्रारम्भ, दिउँसो १२ बजेदेखि १ बजेसम्म हरिनाम सस्कृतन, १।३० बजेदेखि विशेषकथा प्रवचन र साँझ ६ बजेटबाट विष्णु सहस्रनाम पाठ हुने समितिका अध्यक्ष केशवबहादुर कार्कीले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।