पोखरा । चर्को ब्याज दरका कारण पोखराका उद्योगी व्यवसायीहरुले सुरु गरेको आन्दोलनप्रति नेपाली कांग्रेस कास्कीले साथ दिने भएको छ ।
ब्याजदर घटाउनुपर्ने मागसहित व्यवसायीले भोलिदेखि सुरु गर्ने आन्दोलनमा एक्यावद्धता जनाउदै बुधबार एक विज्ञप्ति जारी गरेको हो ।
नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपालमा बैक तथा वित्तिय संस्थाहरुको संख्या असाध्यै धेरै भएका कारण बैकको सञ्चालन खर्च धेरै बढेको भन्दै अस्वस्थ प्रतिष्पर्धाका कारण वढी व्याजदरमा निक्षेप लिइएकोले व्यवसायी समस्यामा परेको उल्लेख छ ।
साथै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउदै देशको अर्थतन्त्रलाई चलायमान वनाउनका लागि पोखरेली उद्योगी व्यवसायिहरुले राखेका मागहरु प्रति नेपाली कांग्रेस कास्कीले एक्यावद्धता जनाउने बताईएको छ ।
यसअघि पनि आन्दोलन गर्ने तयारी गरिएको भएपनि देशमा निर्वाचन हुने समय भएपछि आन्दोलन रोकेका पोखरेली उद्योगी व्यवसायीहरु यसपटक निर्णायक आन्दोलनको तयारीमा पुगेका छन् ।
विज्ञाप्तिमा भनिएको छ, ‘अहिले नेपालको आर्थिक अवस्था अत्यन्त कमजोर स्थितिमा पुगेको छ । औद्योगिक वातावरण निर्माण हुन नसकेका कारण उत्पादनशील क्षेत्र निरुत्साहित भएको छ । बैकको चर्को व्याजदर र आर्थिक मन्दिका कारण व्यापार व्यवसायहरु बन्द हुने अवस्थामा पुगेका छन् । जसका कारण दिन प्रति दिन आयात वढ्दै गएको छ । कृषिजन्य उत्पादनमा समेत नेपाल परनिर्भर हुनु पर्ने जस्तो लज्जास्पद अवस्था हामी संग रहेको छ ।
अहिले वस्तु तथा सेवाको मूल्यवृद्धि अस्वाभाविक रुपमा वढ्दै गएका कारण बजारमा हरेक वस्तुमा मूल्य वृद्धि भईरहेको छ । आयात र निर्यातको अवस्था ज्यादै असन्तुलित भएका कारण त्यसको खराव प्रभाव नेपालको सवै क्षेत्रमा देखा परेका कारण नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुने हो की भन्ने त्रास सर्वत्र फैलिएको छ । राष्टको यस्तो डरलाग्दो अवस्थाका प्रति एउटा जिम्मेवार राजनैतिक पार्टीको हिसावमा नेपाली कांग्रेस , कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ ।’
त्यसैगरि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकको विरोधमा बिहीबार चिप्लेढुंगा चोक (बीपी चोक)मा शान्तिपूर्ण विरोध प्रदर्शनको आयोजना गरिएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्मको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न बस्तुगत संघको पनि सहभागिता रहने छ । निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले बताए ।
संघका महासचिव बलराम आचार्यले प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको मनोमानीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम तय गरिएको हो ।
बिभिन्न बैंकबाट ऋण लिएका व्यवसायीहरुमाथी बैंकले चर्को ब्याज लगाउने मात्र नभएर धितो राखेको जग्गा लिलामी गर्ने धम्की दिने, तारन्तार टेलिफोन गरेर वा भेटेर किस्ता बुझाउन दवाव दिने गर्दा मानसिक तनाव भोग्नुपरेको गुनासो व्यवसायीको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको…





