पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७९ मा प्रकाशित




फागुन १० पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले कलेजले एक कार्यक्रमको आयोजना गर्दै स्नातक तह उत्तिर्ण विद्यार्थीको सम्मानमा ग्रेजुएसन समारोह सम्पन्न गरेको छ ।

मंगलबार कलेजले स्नातक तह उत्तिर्ण ७८ जना विद्यार्थीको सम्मानमा सो कार्यक्रम आयोजना गरेको कलेजका बीबीए कार्यक्रम संयोजक सरोज कुँवरले जानकारी दिए । संयोजक कुँवरका अनुसार कलेजबाट यस वर्ष ७ जना डिन लिस्टमा पर्न सफल भएका छन् । बीबीएतर्फ ५ जना र बीसीआईएसतर्फ २ जना गरि ७ जना डिन लिस्टमा परेका हुन् ।

समारोहमा बोल्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताए । कार्यक्रममा यस वर्ष दीक्षित विद्यार्थीहरुलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका परिक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राध्यापक डा. विनायक प्रसाद भद्रा, कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारी र उप प्राचार्य लिना नेगी श्रेष्ठले समेत आफ्नो भनाइ राख्दै विद्यार्थीहरुलाई व्यवसायीक तथा पेसागत जीवनको सफलताको कामना व्यक्त गरेका थिए ।

कलेज व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष कोमल प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीक्षित विद्यार्थीहरु, उनीहरुको अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआईएस (आईटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको बिसिआईएस कार्यक्रम संयोजक ई. हरी प्रसाद बरालले बतए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।