‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले पोखराबिरुद्ध दुस्प्रचार गरिरहेको छ’


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित




फागुन ११ पोखरा । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन शुरु भएदेखि नै यसको पक्ष र विपक्षमा व्यापक बहस हुँदै आएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन हुने र नहुने पक्षमा पोखरेली सँधै विभाजित भईरहे । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने बेलादेखिको बहस अहिले विमानस्थल बनिसकेपछि पनि टुंगिएको छैन । पहिले बनाउन हुने र नहुने भन्नेमा बहस हुन्थ्यो भने अहिले पोखराबाट अन्र्तराष्ट्रिय उडान सञ्चालन हुन्छ कि हुँदैन ? विमानस्थल कत्तिको सुरक्षित छ ? भन्नेमा केन्द्रीत छ ।

अझ पछिल्लो पटक गत माघ १ गते भएको यती एयरलाईन्सको एटिआर जहाज दुर्घटना र फागुन ९ गते बुद्ध एयरको जहाजसँग चरा ठोक्किएको विषय भाईरल भएसँगै बहस थप पेचिलो भएको छ । विमानस्थलमा बारम्बार नया नया समस्या आएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको भविष्यप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । यसको सुरक्षाका विषयमा सरोकारवालादेखि सर्वसाधारण सम्मले चासो देखाउन थालेका छन् ।

तर पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम भने पोखराको आकाश असुरक्षित छ भनेर दुस्प्रचार भइरहेको बताउँछन् । पोखरा महानगरपालिकाले विहीबार पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले विमानस्थलमा साना, ठूला समस्या आईरहने बताए । उनले भने,‘विश्वका सुरक्षित भनिएका विमानस्थलमा पनि यस्ता घट्ना भईरहन्छन् ।’ विमानस्थल वरपर चरा हुनु र र विमानसँग चरा ठोक्किनुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाई छ । चरा ठोक्किदैमा दुर्घटना हुन्छ नै भन्ने नहुने बताउँदै उनले थपे,‘विमानसँग चरा नठोक्कीई हावाका कारणपनि चरा मर्ने गर्दछ । यसलाई विमानसँग चरा ठोक्कियो भनेर दुस्प्रचार भइरहेको छ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यपनि पोखरा र विमानस्थल सुरक्षित छ भन्नुपर्नेमा उल्टो असुरक्षित छ भनेर दुस्प्रचार भइरहेको बताउँछन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको नकारात्मक प्रचार भइरहेको भन्दै यसले पर्यटनमा असर पुग्नेतर्फ सचेत हुनुपर्ने उनको भनाई थियो । विमानस्थललाई सुरक्षित र चलायमान बनाउन हातेमालो गरौं,उनले भने,‘यसलाई सुरक्षित र चलायमान बनाउनु हाम्रो पहिलो दायित्व हो । त्यसका लागि हामी खटिरहेका छौं । यसका लागि सबैले हातेमालो गरौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीपनि पोखरा विमानस्थलको बारेमा काठमाडौंले दुस्प्रचार गरिरहेको आरोप लगाउँछन् । काठमाडौंलाई पोखराले उछिन्छ कि भन्ने चिन्ता भएकाले उसले यसका बारेमा बारम्बार दुस्प्रचार गरिरहेको उनको भनाई छ । काठमाडौं सँधै पोखराबिरुद्ध छ र अहिलेपनि उसले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सुरक्षित छैन भनेर दुस्प्रचार गरिरहेको छ,उनले भने,‘त्यसमा हामीपनि प्रयोग भइरहेका छौं ।’ उनले पोखराबिरुद्ध पहिलेदेखि नै काठमाडौंले दुस्प्रचार गरिरहेको र त्यसलाई पोखरेलीले पीडाका साथ चुपचाप सहिरहेको भन्दै अब भने प्रतिवाद गर्नुपर्नेमा जोड दिए। हामीसँग बलियो राजनीतिक पहुँच र लबिङ पुगेन जसका कारण बारम्बार दुस्प्रचार हुँदापनि मौन रहेर सह्यौं,उनले भने,‘अब यसलाई चिर्नुपर्छ । यो एक्लाएक्लै होईन मिलेर हातेमालो गर्दै अगाडि बढ्यौं भनेमात्र सम्भव छ ।’

मुल्मीले पोखरा र यहाँको विमानस्थललाई कनेक्टिभिटी सेन्टर बनाउन सकिने बताए । तर काठमाडौंकै कारण भारतले रुट दिन आनाकानी र नाईनास्ती गरिरहेको उनको दाबी छ । पोखराबिरुद्ध षडयन्त्र भइरहेको छ,उनले भने,‘पोखरा र यहाँको विमानस्थल सुरक्षित छ तर काठमाडौं यसलाई गलत सावित गर्न प्रयासरत छ ।’

चराविद् मनशान्त घिमिरेले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँ (ल्याण्डफिल साईड)को विकल्प नदिदा अहिले विमानस्थलका लागि चरा समस्याको रुपमा देखापरेको बताए । ‘पहिल्यै ल्याण्डफिल साईड बनाएको भए यतिबेलासम्म चराले रुट परिवर्तन गरिसक्थ्यो र एयरपोर्टका लागि चरा जोखिमका रुपमा रहने थिएन । तर त्यतिखेर ढिलासुस्ती गर्दा चरा उडरहेका छन् ।’ उनले चरा व्यवस्थापन गर्ने भए मरेका वस्तु (सिनो) नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकारहरु कृष्णमणी बराल, माधव पनेरु, दीनानाथ बराललगायतले विमानस्थलले सहि सूचना नदिने, घट्नाको ढाकछोप गर्नेलगायतका कार्य गर्दा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलप्रति शंका झन् बढ्ने गरेको बताए । उनीहरुले घटनाको तत्काल सहि सूचना दिने गरेमा दुस्प्रचार हुनबाट जोगाउन सकिने उनीहरुको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।