चरक मेमोरियल हस्पिटलमा एसएसएफका योगदानकर्तालाई उपचारमा विशेष छुट


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित




फागुन १७ पोखरा । सामाजिक सुरक्षा कोष (एसएसएफ)मा आवद्ध भएकाहरुले चरक मेमोरियल हस्पिटल प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्राप्त गर्ने भएका छन् ।

सामाजिक सुरक्षा कोष अन्र्तगत आवद्ध योगदानकर्ता र उनीहरुका श्रीमान्/श्रीमतीले स्वास्थ्य उपचारमा पोखरा–८ नागढुंगास्थित हस्पिटलबाट विशेष छुट प्राप्त गर्ने भएका हुन् ।

हस्पिटलमा विभिन्न रोगको स्वास्थ्य उपचारमा उनीहरुका आश्रित श्रीमान्/श्रीमतीले एक लाख २५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचारमा २० प्रतिशत मात्रै शुल्क तिरेर यस्तो सुविधा लिन पाउने अस्पताल प्रशासनले जनाएको छ । सामाजिक सुरक्षा कोषले नै निर्धारण गरेको शुल्कमा उनीहरुले सेवा प्राप्त गर्ने अस्पतालका सामाजिक सुरक्षा कोषका सुचना अधिकारी आराधाना पौडेलले जानकारी दिइन् ।

उनका अनुसार योगदानकर्ताले ओपिडी शुल्कमा रु.४०, भिडियो एक्स–रेमा रु. १४०, एक्स–रे रु.एक सय, ईसीजी रु.४०, सिटी स्क्यान रु.सात सय, ईको कार्डियोग्राफी रु.२१०, लिपिड प्रोफाइल रु.१२०, सिबीसी रु.६०, के.एफ.टी. रु.९८, टी.एफ.टी. रु.१८५, सुगर जाँच रु.१२, यूरिक एसिड रु.१९ मासेवा लिन सक्नेछन् । यसका साथै योगदानकर्ताको कार्यस्थलमा दुर्घटना भई चोटपटक लागेमा स्वास्थ्य उपचारमा कुनैपनि शुल्क नलाग्ने उनले बताइन् ।

साथै अस्पातालले सामाजिक सुरक्षा कोषले समावेश नगरेको योगदानकर्ताका आश्रित परिवारका अन्य सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्र्तगत स्वाथ्य उपचारमा छुट दिएको छ । पौडेलले भनिन्, ‘हाम्रो हस्पिटलले एसएसएफमा आवद्ध योगदानकर्ताका परिवारका सदस्यहरु जस्लाई कोषले समावेश गरेको छैन,जस्तो की उहाँका हजुरबुबा, हजुरआमा, बुवा, आमा, छोरा, छोरी हुनुभयो, उहाँहरुलाई हामीले सहुलियतपूर्ण स्वास्थ्य सेवा दरमै उपचार गर्दै आएका छौं । उहाँहरुलाई ल्याव, एक्स–रे, सिटी स्क्यान, भिडियो एक्स–रे, अप्रेसन र बेड चार्ज लगायतमा १० प्रतिशत छुट दिइराखेका छौं ।’

यस्तो सुविधा लिन घटना घट्नुभन्दा कम्तिमा अघिल्लो ३ महिना नियमित लगातार योगदान गर्ने योगदानकर्ता हुनुपर्ने सामाजिक सुरक्षा कोषले जनाएको छ ।

साथै, हस्पिटलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विपन्न स्वास्थ्य कार्यक्रम अनुसार दिइँदै आएको टाउको तथा मेरुदण्ड, ढाडको दुर्घटना भएर वा अन्य कारणले भएको चोटपटकको एक लाख रुपैयाँसम्मको उपचार पनि निःशूल्क हुँदै आएको छ ।अस्पतालले निःशूल्क डायल्सिस् सेवापनि सञ्चालन गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।