पोखरामा हिमालय विज्ञान महोत्सव जेठ पहिलो साता हुने


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०७९ मा प्रकाशित




फागुन १८ पोखरा । हिमालय साइन्स फाउण्डेसनको आयोजनामा पोखरामा आगामी जेठको पहिलो साता विज्ञान महोत्सव हुने भएको छ ।

देशभित्रका रहेका वैज्ञानिक प्रतिभाहरुको प्रतिभा प्रस्फुटनको गराउने उद्देश्यले २०८० जेठ ४ र ५ गते नयाँबजारस्थित पोखरा प्रर्दशनी केन्द्रमा गण्डकी प्रदेश संस्करणको महोत्सव गर्न लागेको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरेर गर्न लागिएको महोत्सवमा विद्यार्थीले विज्ञान–प्रविधिको प्रोजेक्टसहित सहभागिता जनाउन सक्ने फाउण्डेसनका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए ।

महोत्सवमा विद्यार्थीले फोहोर व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने प्रविधि, हार्डवयर तथा सफ्टवेयर एप्लिकेसन, किसानलाई सहयोग गर्ने नविन कृषि औजार , वायू प्रदुषण शुद्धिकरण प्रविधि, उर्जाका वैकल्पिक श्रोत, रसायनिक मलको वैकल्पिक श्रोत र खोलाबाट माथि पानी तान्ने प्रविधि लगायतका विषयमा केन्द्रित भएका प्रोजेक्ट प्रर्दशनीमा राखिने उनले बताए ।

सोही महोत्सवबाट उत्कृष्ट प्रोजेक्टलाई पुरस्कृत गर्दै प्रदेशबाट केन्द्रमा लगिने फाउण्डेसनका अध्यक्ष बस्नेतले जानकारी दिए । महोत्सवमा प्रथम हुनेलाई नगद ३० हजार, द्वितिय हुनेलाई २५ हजार , तितृय हुनेलाई २० हजार र सान्तवना हुने २ वटा प्रोजेक्टलाई नगद ६–६ हजार रुपैयाँ, प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।

सातै प्रदेशमा महोत्सव सञ्चालनको तयारी गरेको फाउण्डेसनले यसअघि लुम्बिनी प्रदेशको नेपालगञ्जमा सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, विज्ञान शिक्षक समाज गण्डकीका अध्यक्ष राजकुमार ढकालले यस्ता खालका कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुनुका साथै पठनपाठनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।