पोखरा, फागुन १९
कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ । सत्तारुढ आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका पौडेललाई जिताउने अभियान अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा गण्डकी प्रदेश सभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गठबन्धन दलका नेताहरुले गठबन्धन बन्नुको कारण, रामचन्द्र पौडेललाई जिताउनुपर्ने कारणमाथि प्रकाश पारेका थिए ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रबहादुर पाण्डेले लय बिग्रिएको राजनीतिलाई ट्रयाकमा ल्याउन नया गठबन्धन बनेको बताए । प्रजातन्त्रका लागि सँधै लडेका रामचन्द्र पौडेलले कहिल्यै लोकतन्त्र र संविधानलाई आघात नपु¥याउने भएकाले उनलाई जिताउनुपर्ने बताए । उनले चुनावमा गरेका वाचा पूरा गर्नपनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए । पाण्डेले चुनावमा भोटसमेत साटिएको प्रसङ्ग उप्काउँदै भने,‘हामी एउटै पार्टीजस्तो भएर चुनाव लड्यौं, कांग्रेस माओवादीजस्तो भयो, माओवादी कांग्रेसजस्तो भयो । तर बिचमा गठबन्धन भत्किदा जनतामा जान अप्ठेरो परेको थियो तर अहिले फेरी लय समातेको छ । अब जनतामा जानपनि सजिलो भएको छ । त्यसैले गठबन्धनका उम्मेदवारलाई जिताउन हामी सबै एकताबद्ध भएर लाग्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राजनीतिक स्थायीत्व, लोकतन्त्र र संविधानको संरक्षण गर्ने उद्देश्यसहित आठदलीय गठबन्धन बनेको बताए । उनले रामचन्द्र पौडेल अभिभावकीय व्यक्तित्व भएको र प्रजातन्त्र, लोकतन्त्र र संविधान निर्माणमा अतुलनीय योगदान रहेकाले उनलाई राष्ट्रपतिमा जिताउनुपर्ने बताए । ‘हामी अहिले दुई तिहाई नजिक छौं, त्यसैले पौडेलजीको जित सुनिश्चित छ’–उनले भने ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन राष्ट्रपति निर्वाचन वा मतदानका लागि मात्र नभएको बताए । ‘यो गठबन्धन राजनीतिक निकास, आर्थिक विकाससँगै स्थायीत्वका लागिपनि हो । त्यसैले निकास, विकास र स्थायीत्वको पक्षमा उभिदै रामचन्द्रजीलाई मतदान गर्नुस्’–उनले भने ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीबाट सत्तारुढ दलहरुका सबै जनप्रतिनिधिको भोट एकमतका साथ आउने बताए । ‘हामी प्रतिबद्धता व्यक्त गर्दछौं कि यहाँबाट एकमत पनि तलमाथि हुँदैन’–उनले भने ।
नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले गण्डकी प्रदेशले प्रधानमन्त्री पाइसकेको र अब राष्ट्रपति पाउनुलाई गौरवको विषय भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







