कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकीका अध्यक्षमा पुनः सन्तोष थापा


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७९ मा प्रकाशित




पोखरा, फागुन २०

कृषि विकास बैंक, कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः सन्तोष थापा दोहोरिएका छन् । संघको पोखरामा शनिबार भएको ११ औं प्रदेश अधिवेशनले थापालाई पुनः अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा भीमबहादुर थापा, सचिवमा सुमन सुवेदी, सहसचिवमा सुनिल ढेवाजु र कोषाध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् ।

संघको सदस्यहरुमा यमप्रसाद भुषाल, डोलराज गैह्रे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सिता पाण्डे, रामचन्द्र अधिकारी, बिजय पौडेल र कुशल तिवारी चयन भएका छन् ।

यसअघि अधिवेशनको नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै उनले अहिले राष्ट्रियता र स्वाधिनताका पक्षधरहरुलाई राष्ट्रिय अन्र्तराष्ट्रिय शक्तिले घेराबन्दी गरिरहेको आरोप लगाए । उनले भने,‘एमालेबिरुद्ध राष्ट्रिय, अन्र्तराष्ट्रिय षडयन्त्रहरु भईरहेका छन् । घेराबन्दी गरिरहेका छन् ।’ उनले अहिले देश निर्माणमा जुटेको एमाले र कर्मचारीले असुरक्षित महशुष गरिरहेको बताए । तर कस्तो खालको असुरक्षा महशुष गरिरहेका छन् भन्नेबारेमाभने उनले केहिपनि खुलाएनन् ।

पूर्व मन्त्रीसमेत रहेका विश्वकर्माले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न पार्टी निकट कर्मचारीहरुलाई निर्देशन दिए । सुशासन, विकास र समृद्धिको अभिभारा तपाईं हामी एकजुट भयौं भनेमात्र सम्भव छ,उनले भने,‘तर सुशासन, विकास र समृद्धिको बाधकका रुपमा भ्रष्टाचार र अस्थिरता आएको छ । यसको अन्त्यका लागि तपाईं कर्मचारीहरुलेपनि भूमिका खेल्नुपर्छ ।’

विश्वकर्माले कर्मचारी संगठनका नेताहरुलाई आफ्नो व्यक्तिगत फाईदा भन्दा संगठन र पार्टीको हितका बारेमा सोंच्न आग्रह गरे । ‘संगठनको नेताले व्यक्तिगत फाईदा, नाफा वा लाभ हेर्ने होईन । संगठन र पार्टीको लक्ष्य, उद्देश्य अनुसार सिंगो देशको, जनताको भाग्य र भविष्य कोर्न भूमिका खेल्नुपर्छ’–उनले भने ।

कार्यक्रममा बोल्दै पेशागत महासंघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र रिमालले कर्मचारीहरुलाई पेशागत मर्यादा कायम राख्दै काममा व्यवसायीकता देखाउन आग्रह गरे ।

कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रकाश कँडेलले कर्मचारीको सहयोगमा नै बैंक सफल हुने भएकाले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । त्यसका लागि आफू र आफ्नो टिमले सँधै सकारात्मकताका साथ काम गरिरहेको बताए ।

कृषि विकास बैंक कर्मचारी संघका केन्द्रीय सल्लाहकार महेश पौडेलले कर्मचारीको हक, हितसँगै बैंकलाई अब्बल बनाएर सेवाग्राहीलाई सेवा गर्नु नै संगठनको उद्देश्य रहेको प्रष्ट्याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।