‘माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट एक हुनुपर्छ’ : डा. भट्टराई


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताएका छन् ।

आज सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ ।माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्नेमा जोड दिए ।अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको अभिव्यक्ति दिए । उनले भने, “बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या हैन ?”

उनले माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासोसमेत गरे । “पहिलो संविधानसभाबाट संविधान बनाएर जान सकेको भए योभन्दा राम्रो संविधान, सेना समायोजन र सहिद तथा बेपत्ता पारिएकासम्बन्धी आयोगको काम समयमै सम्पन्न हुने थियो । तर अभागीलाई खानेबेला रिस उठ्छ भने जस्तै हामीलाई रिस उठ्यो त्यो बेला, हामीबीच एकता हुन सकेन”, उनले भने । नेतृत्व मोहका कारण राजनीतिमा पुस्तान्तरण हुन नसकेको उनको भनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।