तनहुँ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा व्यास नगरपालिकाको आयोजनामा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्म फागुन २४ गते महिला हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । गत वर्ष आयोजित महिला म्याराथनमा ४४ धावक सहभागी थिए । महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको उपप्रमुख दरैले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ७९, द्वितीय हुनेलाई रु ३१ हजार ७९, तृतीय हुनेलाई रु २१ हजार ७९ र सान्त्वना हुने तीन जनालाई जनही रु ११ हजार ७९ का दरले पुरस्कार वितरण गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन २३ गते दिउँसो १ बजेसम्म नाम दर्ता गराउनुपर्ने नगरपालिकाका शिक्षा शाखा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।
नाम दर्ता गरेका धावकलाई सोही दिन दिउँसो २ बजे अभिमुखीकरण गराइनेछ । व्यास गुफादेखि अनशन चौतारी, दुर्गा मन्दिर, भोर्लेटार चोक, गणेशमान चोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, बाराहीरानी मार्गको रानी गाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यार चोक, चण्डिथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरबारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमीको रहनेछ ।
खेलकुदलाई पर्यटनसँग जोड्दै
नगरपालिकाले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढेको छ । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित नगरपालिकाले प्रत्येक वर्ष व्यास नगर अल्ट्रा म्याराथन र महिला हाफ म्याराथन गरिरहेको छ ।
नगरपालिकाले म्याराथनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउछन् । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर शहीद दिवसका अवसरमा मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन सम्पन्न भइसकेको छ ।
“व्यासको जन्मभूमि दमौली र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलबाट जोड्न महिला म्याराथनले सहयोग पुग्ने विश्वास लिएका छौँ”, न्यौपानेले भने ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







