काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
“मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु”, खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले भने, – “विश्वकप छनोटका लागि तपाईँहरूलाई थप सफलता मिलोस् । म तपाईँहरूको सुख, दुःखमा साथमै हुनेछ ।”
प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सरकारले जनही रु दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप०लाई निर्देशन दिएका छन् । उनले भने, “यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”
बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका छन् । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।
बिहीबार प्रधानमन्त्री प्रचण्ड आफैँ कीर्तिपुर क्रिमेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






