गण्डकी प्रदेश खेलकुद परिषद्: सुझाव सङ्कलन गरी पेश गर्न समिति गठन


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश खेलकुद परिषद्को चौथो पूर्ण बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याका बारेमा सुझाव सङ्कलन गरी पेश गर्न समिति गठन गरेको छ ।

परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषद्का सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा मधुसुदन सुवेदी रहेका छन् ।

बैठकले प्रदेश खेलकुद सङ्घ गठन, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समीक्षा, वार्षिक कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णयसमेत गरेको छ ।

बैठकमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चमान गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपलब्धिको उच्च मूल्याङ्कन हुने बताए । उनले परिषद्का पदाधिकारीले प्रतियोगितमा स्वयंसेवीका रुपमा खेलकुद विकासका लागि गरेको भूमिका प्रशंसनीय छ भने ।

खेल सङ्घलाई व्यवस्थित गर्ने र प्रदेशमा खेलिने परम्परागत खेल सङ्घलाई समेट्न उनले आग्रह गरे ।

बैठकमा मन्त्रालयका सचिव हेमराज सुवेदीले प्रदेश खेलकुदको वार्षिक कार्यक्रममा समावेश विभिन्न महत्वपूर्ण कार्यक्रमले खेलकुद विकासलाई गति दिन सहयोग पुग्ने बताए । यस आर्थिक वर्ष करिब ६० प्रतिशत बजेट खर्च हुनु उपलब्धिमूलक रहेको जनाउँदै उहाँले बाँकी कार्यक्रम यथाशीघ्र सम्पन्न गरी शतप्रतिशत सफलता हासिल गर्न आग्रह गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।