बाबा साहित्य साधक सम्मान तनहुँका श्रेष्ठ र कास्कीका अधिकारीलाई


     एभरेस्ट आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित




पोखरा । बाबा साहित्य साधक सम्मान २०७८ र २०७९ क्रमशः तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र कास्कीका कवयत्री लिली अधिकारीलाई अर्पण गरिने भएको छ ।

कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र विसं २०६७ मा एकल कविता वाचन कार्यक्रममा सङ्कलित रकमबाट सो सम्मान प्रदान गरिँदै आइएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सहप्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण सारथीको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कृतको नाम छनौट गरेको हो ।
श्रेष्ठ शुक्ला साहित्य सङ्गम तनहुँका पूर्वअध्यक्ष हुन् । उनको ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह कृति प्रकाशित छ । पोखरा–२४ का अधिकारीको ‘पहराको फूल’ कविता सङ्ग्रह प्रकाशित छ ।

गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिँदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बागलुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भैसकेका छन् । सम्मानको राशि नगद रु १० हजार पाँच सय ५५ नगद, सम्मानपत्र र दोसल्ला छ ।

यस वर्ष दुवै सम्मान २०७९ चैत १८ गतेका दिन प्रदान गरिने सङ्घर्षमा कलमका सदस्यसचिव असफल गौतमले जानकारी दिए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।