पोखरा, चैत ८
पोखरामा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ चाँडै सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । न्यूरोडस्थित भाटभटेनी भन्दा केहि तल रहेको यो शुक्रबारदेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर) सन्तोषलाल श्रेष्ठको संयुक्त बाहुलीबाट समुद्घाटन गर्ने तय भएको छ ।

मायाको प्रतीक रानी महलको बनोटमा सेतो र निलो रङ्गको कम्विनेसनमा निर्माण गरिएको ‘पाल्पा हाउस’ आकर्षक छ । दुई तले भवनमा १७ वटा सटर रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । सबै सटरमा पाल्पा र पोखराको पहिचान बोकेका छुट्टाछुट्टै सामानहरुको स्टल रहने उनको भनाई छ । पाल्पा र पोखराका मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानका रुपमा रहेका वस्तुहरु बिक्रीवितरणका लागि राखिनेछन् । उनका अनुसार ‘पाल्पा हाउस’मा पाल्पाको चिनारीका रुपमा रहेको पाल्पाली करुवा, पाल्पाली ढाकासहितका सामानहरु रहेको स्टल रहेका छन् भने पोखराको पहिचान बोकेको पोखरेली जेठोबुढो चामललगायतका वस्तुहरुका स्टल राखिएका छन् । पाल्पा हाउस भित्रै पाल्पामा उत्पादन भएका फलफूल तथा तरकारीहरु बिक्रीका लागि कृषि बजारसमेत रहने अध्यक्ष घिमिरेले जानकारी दिए । ‘पाल्पाका उत्पादक र पोखरेली उपभोक्तालाई जोड्ने उद्देश्यले कृषि बजार राखेका हौं’–उनले भने ।
‘पाल्पा हाउस’मा पाल्पाली स्वाद दिनेगरी एउटा रेष्टुरेण्टसमेत सञ्चालन गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । जहाँ चर्चित पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयलालगायतको स्वाद लिन पाईने उनको भनाई छ । ‘पाल्पाको स्वाद पोखरामै चखाउन पाल्पाली स्वादको रेष्टुरेण्ट राखेका हौं’–उनले भने ।
पाल्पा हाउस नाम भएपनि यहाँ पाल्पा र कास्कीका दुबै ठाउँका सामानहरु राखिनेछन् । ‘पाल्पा हाउस’ सञ्चालनको उद्देश्य पाल्पा र कास्कीका उत्पादनको प्रवद्र्धन गर्नुरहेको अध्यक्ष घिमिरे बताउँछन् । भन्छन्,‘हाम्रो जन्मथलो पाल्पा हो तर कास्की कर्मथलो हो । त्यसैले दुबैप्रति हाम्रो उत्तिकै माया र महत्व छ । त्यसैले दुबै ठाउँ र यहाँका उत्पादनलाई प्राथमिकता दिएका हौं ।’ उनले पाल्पाको करुवा र ढाकालाई पोखरामा बजारीकरण गर्ने तथा पोखरेली जेठोबुढो धानलाई पोखराको कोशेलीको रुपमा ब्राण्डिङ गर्ने आफूहरुको योजना रहेको बताए ।
उद्घाटनको अवसरमा बैशाख पहिलो हप्तासम्म ‘पाल्पा हाउस’का हरेक सामानको खरिदमा १० प्रतिशत छुट दिईने जनाइएको छ ।
पाल्पाली समाज पोखराले ‘पाल्पा हाउस’बाहेक पाल्पाली कोलोनी निर्माण तथा पाल्पाली बहुउद्देश्यीय सहकारी सञ्चालन गर्दै आएको प्रचारप्रसार संयोजक बिजय नेपालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







