पोखरा, चैत १०
नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको शुक्रबार दिउँसो बसेको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसलगत्तै संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका थिए ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै माओवादीका मन्त्रीहरुले शुक्रबार नै पदबाट राजिनामा दिएका छन् । गण्डकी प्रदेश सरकारमा माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई राजिनामा पत्र बुझाएका हुन् ।
मन्त्रीहरुले राजिनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघी माओवादीले कांग्रेससँग छलफल गरेको थियो । छलफलमा माओवादीले आगामी सरकारमा आलोपालोसँगै पहिलो कार्यकालमै सरकारको नेतृत्व मागेको थियो । तर कांग्रेस नेताहरुले भने केन्द्रबाटै सबै कुरा टुंगिने भएकाले यसलाई अहिले प्रमुख विषय बनाउन नहुने भन्दै ठोस जवाफ नदिएको श्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारबाट फिर्ताहुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले चाँडै कांग्रेससँग मिलेर नया सरकार निर्माण गरिने र पहिलो कार्यकाल नै सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने बताए । सरकारमा आलोपालो गर्ने भन्ने त टुंगिसकेको छ,उनले भने,‘यो त नेताहरुले पहिल्यै टुंग्याईसकेको विषय हो । तर पहिलो कार्यकाल नै माओवादी नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’
यसअघि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपनि प्रदेशमा पनि आलोपालो सरकार बन्ने बताइसकेका छन् । तर कांग्रेसले आलोपालो सरकार बनाउन गण्डकीमा आनाकानी गर्दै आएको छ ।
माओवादी र राप्रपाको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । तर माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी नेतृत्वको गण्डकी सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८ र राप्रपाका दुई सांसदको समर्थनमा बनेको सरकारलाई माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको हो । अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
अधिकारीले विश्वासको मत नपाएको खण्डमा कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । कांग्रेसको २७ सांसद भएकाले माओवादी र कांग्रेस मिल्ने वित्तिकै गण्डकीमा बहुमत पुग्छ । उसो त स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलेपनि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी…





