पोखरा, चैत ११
नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।
नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजिनामा दिएर नया सरकार गठनका लागि मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आग्रह गरे । माओवादीले साथ छाडिसकेको छ,उनले भने,‘त्यसैले सरकार अल्पमतमा परिसक्यो । बहुमत जुटाउने सम्भावनापनि देखिदैन । यस्तो अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ ।’
पाण्डेले काम चलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, नियुक्ती र सरुवा बढुवालगायतका कार्य गर्नु न्यायोचित नहुने बताए । उनले वर्तमान अल्पमतको सरकारले गरेका निर्णयबाट आर्थिकलगायतका दायित्व सिर्जना भएमा सो दायित्व नया सरकारले लिन बाध्य नहुने चेतावनी दिए । ‘हामी अल्पमतको सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन सचेत गराउँछौं र सो निर्णय कार्यान्वयन नगर्नपनि आग्रह गर्छौं’–उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा पार्टीका शिर्ष नेताहरुले टुंग्याउने बताए । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने र पहिलो कार्यकाल आफूले पाउनुपर्ने माग गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेता पाण्डेले भने,‘यो सबै केन्द्रले टुंग्याउँछ । शिर्ष नेताहरुबीच जे सहमति हुन्छ त्यो कार्यान्वयन हुन्छ ।’ सरकारको नेतृत्वका लागि आलोपालो गर्न सहमत कांग्रेस गण्डकीले पहिलो कार्यकाल भने आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ ।
पाण्डेले दश दलीय गठबन्धन बनेपछि नेपालको राजनीति सही लिकमा आएको बताए । छिटो छिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने उनको भनाई छ । ‘तर सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण भने निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकुल छ । यसले निर्वाचनपछि केहि समय लिक बाहिर पुगेको राजनीति पुनः सही लिकमा प्रवेश गरेको छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





