निजी क्षेत्रको ठूलो आयोजना ४४ मेगावाटको सुपर मादी हाइड्रो सञ्चालनमा, शनिवारदेखि राष्ट्रिय प्रसारणमा जोडियो


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित




पोखरा । सुपर मादी हाइड्रो पावर लिमिटेडले कास्कीको मादी गाउँपालिकामा निर्माण सम्पन्न गरेको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको शनिवार (चैत ११ गते) देखि परिक्षण उत्पादन सुरु भएको छ । उत्पादित विद्युत पोखरा महानगर पालिकाको लेखनाथ सवस्टेशनमा जोडिएको हो ।
मादीको पाँचौँ विद्युत गृहका रुपमा निर्माण सम्पन्न भएको यो आयोजना मादी खोलामा बनेका मध्ये सबै भन्दा ठुलो हो । मादी खोलामा यसअघि नै ४ वटा हाइड्रो पावर निर्माण भैसकेका छन् । सञ्चालनमा आएका मध्ये सुपर मादी निजी क्षेत्रले निर्माण गरेको कास्कीको पहिलो ठूलो र देशकै दोस्रो ठूलो आयोजनामा पर्छ । विगतमा आइपरेका बाढी पहिरो, कोरोना महामारी जस्ता प्राकृतिक प्रकोपका बाबजुत निर्माणलाई तीव्रता दिएर विद्युत उत्पादनको चरणमा पुर्याइएको कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।
१५ दिनसम्म हुने परीक्षण उत्पादनको बिजुली भने प्राधिकरणलाई निशुल्क उपलब्ध गराउनुपर्ने प्रावधान रहेको ढुंगानाले जानकारी दिए । परीक्षण उत्पादनका क्रममा अहिले आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन भइरहेको बताइएको छ । शुक्रबार साँझदेखि परीक्षण उत्पादित बिजुली निशुल्करूपमा प्रदान बिजुलीबाट प्राधिकरणलाई झण्डै ८० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।

‘२०७८ साल असार १ गते मादी नदीमा आएको बाढीले १ अर्ब रुपैयाँ भन्दा बढी क्षति पुर्यायो, कोरोना माहामारीले धेरै पटक काम अवरुद्ध हुने परिस्थिति बनेको ढुंगानाको भनाई थियो । ‘भैपरि आएका समस्यालाई कुशल ढंगबाट व्यवस्थापन गर्न सकेका कारण लक्षित समयमा हामीले परिणाम देखाउन सकेका छौं । प्राधिकरणसँगको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार विद्युतको व्यापारिक उत्पादन गर्नुपर्ने अवधि २०७८ चैतलाई तोकिएको थियो तर बाढी पहिरो, कोरोना महामारी जस्ता घटनाको सामना गर्नु परेको हुँदा एक वर्ष समय ढिला हुन गयो । आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा (९२४,२६,५०,००० युनिट) बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहदेखि १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको छ । प्राधिकरणसँग भएको पिपिए अनुसार हिउँदका ४ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्षामा ८ महिना प्रतियुनिट ४.८० रुपैयाँ दर निर्धारण गरिएको छ । यसको आधारमा उत्पादन सुरु भएको वर्ष कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ३० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । ७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण पूरा भएको विवरण तयार हुँदासम्म करिब ८ अर्ब ७० करोड रुपैयाँ पुग्ने अनुमान छ । सुरुङ खन्ने क्रममा देखिएको भौगोलिक जटिलताका कारण सुरुङभित्र ८०० मिटर पेनस्टक पाइप राखिएको छ । यो कामका लागि मात्र करिब २५ करोड रुपैयाँ थप खर्च भएको छ’ ढुंगानाले हाइड्रोको साइट अफिस ताड.तिड.मा आयोजित प्रेस ब्रिफिड.मा बताए ।
‘नदीमा आएको बाढीका कारण समय लम्बिँदा ४७ करोड रुपैयाँ ब्याजमात्र बढ्न गएको छ,’ उनले थपे, ‘रसिया–युक्रेनको युद्धले पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धि, महँगो फलाम तथा डण्डी, व्यवस्थापन लगायत शीर्षकमा समेत २० करोड रुपैयाँ बढ्न गयो ।’ विविध समस्याका बाबजुत पनि स्थानीयवासी, स्थानीय प्रशासन तथा सरोकारवाला सबैको अति नै महत्त्वपूर्ण सहयोग रहेको उनको भनाइ छ ।
पिपिए अनुसार चैत्र महिनामा १३ मेगावाट बिजुली उत्पादन गर्ने भनिए पनि परिक्षण अबधि मै १५ मेगावाट बिजुली उत्पादन भएको अध्यक्ष ढुंगानाले दाबी गरे ।
आयोजनाका लागि २ अर्ब १० करोड इक्युटी शेयर पुँजी छ र बाँकी बैंक लोन छ । यो आयोजनामा ७ वैंकले लगानी गरेका छन् । सानिमा बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।


सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी प्रालि ,इलेक्ट्रो मेकानिकल ठेकेदार एसिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी छन् । कम्पनिको १ सय अंकित दरका कुल २ करोड १० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज ९ नेप्से० मा सूचिकृत भई कारोवारमा आइसकेको छ ।
संक्षेपमा सुपर मादी हाइड्रो :
आयोजनास्थल : कास्की जिल्ला ९मादी गाउँपालिका वडा नम्बर १ र २
आयोजना :  सुपर मादी जलविद्युत आयोजना
प्रवर्द्धक :  सुपर मादी हाइड्रो पावर लिमिटेड
क्षमता : ४४ मेगावाट
वार्षिक ऊर्जा उत्पादन : २४२.६५ गेगावाट घण्टा (९२४,२६,५०,००० युनिट)
परामर्शदाता :  सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी
सिभिल ठेकदार : फेवा कन्स्ट्रक्सन प्रालि
हाइड्रो मेकानिकल निर्माण तथा जडान :  माछापुच्छ्रे मेटल उद्योग
इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान :  एसिया प्यासिफिक पावर टेक प्रालि
मुख्य सुरुङ : करिब ६ किलोमिटर
सुरु लागत (अनुमानित) :  ७ अर्ब ४७ करोड रुपैयाँ
संशोधित लागत स् ८ अर्ब ७० करोड रुपैयाँ
लगानीकर्ता वित्तीय संस्थाहरू : सानिमा बैंक, एनआइसी एसिया, एभरेष्ट बैंक, कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र एचआइडिसिएल
प्रसारण लाइन :  १३२ केभी(१९ किलोमिटर)
जडान गर्ने स्थान : लेखनाथ सबस्टेसन
उत्पादन अनुमतिपत्र लिएको मिति :  २०७३ चैत १७ गते
सञ्चालन अवधि ः २१०८ चैत १६ गतेसम्म (३५ वर्ष)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।