पृथ्वी राजमार्ग थप १९ दिन दैनिक ४ घण्टा बन्द हुने


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन् ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने भएको छ ।

यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले आज सूचना जारी गरी समय थप गरिएको गैरेले जानकारी दिए । उनका अनुसार यसअघि दुई पटक समय थप गरिए पनि भिर कटान कार्य नसकिएकाले समय थपिएको हो । यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो ।

गैरेले पहिलो पटक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः चैत १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका थिए । उक्त समयसम्म अत्यावश्यक सवारी साधानबाहेक सवारी साधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय भएको उनले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।