पोखराको लेकसाईडबाटपनि नेपाल बैंकको सेवा शुरु


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित




पोखरा, चैत १४

नेपाल बैंक लिमिटेडले पोखराको लेकसाईडमा शाखा बिस्तार गरेको छ । बैंकले मंगलबार एक औपचारिक कार्यक्रम गरेर शाखाको उद्घाटन गरेको हो । यो नेपाल बैंकको २२८ औं शाखा हो भने पोखराको आठौं शाखा हो । वि.स.१९९४ सालमा स्थापित यो बैंकले यसअघि पोखराका विभिन्न सात ठाउँबाट सेवा दिदै आएको छ । लेकसाईड शाखाबाट भदौ ६ गतेदेखि नै सेवा सञ्चालन शुरु गरेपनि औपचारिक उद्घाटन भने आजमात्र गरिएको हो ।

पोखराको आठौं शाखाको रुपमा सञ्चालनमा आएको लेकसाईड शाखाको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मेयर आचार्यले नेपाल बैंकले सेवाग्राहीको गुनासो नआउने गरी काम गरेको भन्दै प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरिय सेवालाई निरन्तरता दिन आग्रह गरे । मेयर आचार्यले कोभिड दुई वर्ष अघि नै सामान्य रुपमा फर्किएपनि त्यसको असर भने बल्ल देखिन थालेकाले वित्तीय अनुशासन कायम राख्नुपर्ने बताए । उनले बैंकलाई बैंककै जस्तो सेवा र व्यवहार गर्न सुझाए । साथै बैंकले आर्जन गरेको रकम जहाँबाट आर्जन गरेको हो त्यहि क्षेत्रमा लगानी गर्नपनि आग्रह गरे । ‘बैंकले पोखराबाट कमाएको रकम पोखरा र फेवातालको संरक्षण र समबद्र्धनका लागि खर्चिनु प¥यो’–उनले भने ।

नेपाल राष्ट्र बैंकका पोखरा कार्यालय प्रमुख आर्या जोशीले बैंकलाई शाखा बिस्तारसँगै गुणस्तरिय सेवालाई कायम राख्न आग्रह गरिन् । शाखा खोल्नुमात्र ठूलो कुरा होईन,उनले भने,‘गुणस्तरिय सेवापनि दिईरहनु भएको छ ? यसबारे सोंच्ने र मनन् गर्ने गर्नूस् ।’ उनले बैंकले नाफाको निश्चित रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नैपर्ने राष्ट्रबैंकको निर्देशन भएकाले सो अनुसार गर्न सुझाव दिईन् । उनले अर्थतन्त्र सुधारोन्मुख रहेको र अब केहि दिनभित्रै व्याजदर पनि घट्ने र कर्जा लगानीपनि खुकुलो हुने उल्लेख गरिन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक देशको नामसँग जोडिएको बैंक भएको र यो अन्य बैंक भन्दा भिन्न बैंक भएको बताए । निक्षेपमा उच्च ब्याजदर र न्यून ब्याजदरमा कर्जा वितरण गर्ने नेपाल बैंक हो,उनले भने,‘अन्य बैंक भन्दा उत्कृष्ट काम गर्नपनि सफल छ । यो बैंकमा घरमै बसीबसी अनलाईनबाट खाता खोल्न, विदेशबाट खातामा रकम जम्मा गर्न तथा विदेशबाट स्वदेश फर्किएकालाई न्यून ब्याजदरमा कर्जा वितरण गर्ने भएकाले उद्यमी बन्नलाईपनि सघाउँछ ।’

पोखरा महानगरपालिका वडा नम्बर–६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले नीजि बैंकहरुले पर्यटन व्यवसायीहरुलाई ताकेता गरेर तनाव दिईरहेको भन्दै त्यस्तो नगर्न नेपाल बैंकलाई सचेत गराए । उनले कमाईको निश्चित रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेवातालको संरक्षण र सम्बद्र्धनमा खर्चिनपनि आग्रह गरे ।

नेपाल बैंक लेकसाईड शाखाकी प्रबन्धक सीता राना शाहले नेपाल बैंक सर्वसाधारणको पहिलो रोजाईको बैंक भएको र यसलाई कायम राख्ने प्रतिबद्धता जनाईन् । सबै सूचकांकमा नेपाल बैंक पहिलो बैंकका रुपमा स्थापित भएकाले निश्चिन्त भएर सेवा लिन आउनका लागि उनले सेवाग्राहीलाई आग्रहसमेत गरिन् ।

भूपू कर्मचारीका तर्फबाट बोल्दै राजेन्द्रमान श्रेष्ठले बैंकको ईतिहास र यसको सेवालाई कायम राख्नु चुनौतिपूर्ण रहेको बताए ।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय गण्डकी प्रमुख सचिता पराजुलीले स्वागत गरेको कार्यक्रममा बैंकको बगर शाखा प्रमुख सन्तोष शर्माले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।