११ औं आलु महोत्सवको तयारी तिव्र


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७९ मा प्रकाशित




चैत १५ पोखरा । बिष्णु पादुका क्लब पोखरा–२५ हेमजाको आयोजनामा हुने ११ औं राष्ट्रिय ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ ।

यही चैतको अन्तिम सातादेखि शुरु हुने महोत्सवलाई आयोजकले तिव्र पारेको हो । क्लवले महोत्सवको तयारी स्वरुप बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग छलफल गरेको छ ।

महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिए । उनले कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषक बिच कृषि साझा सवाल आयोजना गरिने बताए । महोत्सवको लागि विभिन्न कृषि निकायसँग समन्वय भइरहेको जानकारी दिँदै महोत्सवमा आलुको साथसाथै रैथाने बालिको प्रदर्शन गरिने बताए ।

महोत्सवको आकर्षणको लागि निर्माण गरिने आलुको पहाडको लागि आलु संकलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले बताए । उनले बुधबारसम्म ५० केजीको ५५० बोरा संकलन भइसकेको र अब ५० बोरा संकलन गर्न बाँकी रहेको बताए । आलुका साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ ।

महोत्सवको समायावधि नजिक आइरहदाँ बुधबारसम्म स्टल निर्माणका काम भइरहेको तथा स्टल बुकिङ भइरहेको स्टल तथा रेष्टुरेन्ट उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेष्टुरेन्टका स्टल बुकिङ भइसकेको बताए ।

सो कार्यक्रममा मुल आयोजक समिति संयोजक सुबिन श्रेष्ठ, साँस्कृतिक उपसमिति संयोजक दान ब. थापा, प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारी लगायतले अहिलेसम्म भइरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए ।
‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ चैतको २६ गतेदेखि बैशाख ३ सम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।