‘सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान पनि हो’


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित




चैत १८ पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाहरुले बताएका छन् । सामुदायिक संस्थाको महत्व समुदायले नबुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाई छ ।

पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताए । सामुदायिक संस्था त्यो समुदायको पहिचान समेत भएको उनीहरुको भनाई छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग चाहिने उनीहरुले बताए ।

टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस संचालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभातिामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताए । ‘गुणस्तरीय र संख्यात्मकमा मात्र ध्यान नदिई अब संस्कार पनि यस्ता सामुदायिक शैक्षिक संस्थाले सिकाउनुपर्ने आवश्यकता छ । किनकी पछिल्लो पुस्ता संस्कारका सिकाईबाट बिमुख हुँदै गएको छ,’ उनले भने ।

पोखरा–९, बास्तोलाथर टोल विकास संस्थाका प्रकाश बास्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको बताए । उनले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने बताए । ‘विद्यार्थीको रुची अनुसारको शिक्षा दिने हो भने नजिकैको क्याम्पसमा पक्कै आउनेछन, त्यसका लागि सबैको सहकार्य उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘विद्यार्थीले कस्तो शिक्षा र विषय चाहेको हो भन्ने बुझ्ने हो भने सामुदायिक संस्था पनि अब्बल हुनेछन् ।’

स्थानीय जनकल्याण महिला समुहकी अध्यक्ष बिमला परियारले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभाकवको कर्तव्य पुरा नहुने बताईन । आफ्ना छोराछोरीले कस्तो पढेका छन र शिक्षकको अध्यापन शैली कस्तो छ भनेर अभिभाकवले पनि चाँसो दिनुपर्ने उनले बताईन ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक सस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने सुझाए । ‘सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिन्छ, सामुदायिक भन्नासाथ समुदायको भरमा चल्ने हो, यस्ता संस्थामा समुदाय त झनै सहभागी हुनुपर्छ,’ उनले भने, ‘सहरको बिकासमा विभिन्न सुविधा चाहिए जस्तै सामुदायिक शैक्षिक संस्था पनि आवश्यक छ । पोखराको पहिचान भित्र सामुदायिक क्याम्पस पनि पर्छ ।यो त झन् पोखराकै नाममा हाम्रा अग्रजले स्थापना गरेको पुरानो सामुदायिक क्याम्पस हो । यो यस टोलको मात्र नभई समग्र ९ नम्बर वडाकै पहिचान हो ।’ यस्ता संस्थालाई समुदायको निगरानी चाहिने उनले बताए ।

पोखरा बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले सामुहिक प्रयासमा क्याम्पस संचालन भएकोले अबको बाटोमा पनि समुदायको साथ चाहिने बताए । संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताए । सामुदायिक सम्पत्ति संरक्षणमा सबैको उत्तिकै योगदान हुने उनले बताए । ‘यो क्याम्पस समुदायको पनि सम्पत्ति हो, सबै मिलेर संरक्षण गरौ,’ उनले भने ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले महंगो स्वास्थ्य र शिक्षाका कारण अहिले स्वदेशमा भविश्य सुरक्षित नदेखेर धेरै युवायुवती विदेशिएकोले उनीहरुलाई रोक्नका लागि पनि सामुदायिक संस्था महत्वपूर्ण रहेको बताईन । ‘सस्तो र सुलभ दरमा स्वदेशमै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने निश्चित हुने हो भने पढ्नकै लागि बाहिर जानुपर्ने थिएन,’ उनले भनिन । सामुदायिक शैक्षिक संस्था समुदायको पनि सम्पत्ति भएकोले सबै मिलेर संरक्षणमा जुट्ने हो भने यसले समुदायलाई नै लाभ दिने कार्यक्रमका सहजकर्ता प्राध्यापक महेन्द्र रिमालले बताए ।वडा नम्बर ९ भित्रका आमा समूह टोल बिकास संस्था सरोकारवाला संघ संस्थाको उपश्थिति रहेको अन्तर्क्रिया कार्यक्रममा प्राध्यापक अनुपमणि अधिकारीले क्याम्पस चिनारी झल्कने प्रस्तुति राखेका थिए । बि.सं. २०४४ सालमा स्थापना भएको यो क्याम्पस अहिले पोखरा–९ शान्तिबन बाटिकामा संचालित छ । क्याम्पसमा चार वर्षे स्नातक तहमा बिए र बिबिएस अध्यापन हुन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।