विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित




ताप्लेजुङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे ।

विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री श्रेष्ठले विपी राजमार्गको माम्दी पुलबाट तेमाल गाउँपालिकाको मेच्छेपौवास्थित म्हानेगाङसम्मको मोटरबाटोको जिम्मा सरकारको तर्फबाट आफूले लिने बाचा गरे ।

प्राप्त राजनीतिक उपलब्धिलाई कुनै पनि कोणबाट गुम्न नदिई अझ बलियो बनाउने काममा लाग्न आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले प्राप्त उपलब्धिलाई कमजोर पार्न खोज्ने प्रवृत्ति र असंवैधानिक क्रियाकलापविरुद्ध खबरदारी गरिरहनुपर्नेमा जोड दिए । उनले जनताको सहयोगबाट निर्माण भएको गुम्बाबाट यहाँका स्थानीयको आस्थालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।