पश्चिमी वायुको प्रभावले वर्षा, यस्तो छ भोलिको पूर्वानुमान


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

काठमाण्डौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू–भागहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । “प्रि–मनसुनमा अपराह्नपछि मेघ गर्जन/चट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड–खण्ड वर्षा हुन्छ”, मौसमविद नगरकोटीले भनिन्, “यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ ।”
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।