जनप्रतिनिधि आएको एक वर्षपछि अदालतले भन्यो : पोखरा १८ मा पुनः मतगणना


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित




पोखरा, चैत २१

पोखरा महानगरपालिका वडा नम्बर–१८ मा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधिस डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त ईजलासले गत वर्षको वैशाख ३० गते भएको स्थानीय तहको चुनाव अन्तर्गत भएको पोखरा–१८ मा पुनःमतगणना गर्न आदेश दिएको हो । अदालतले तत्कालीन समयमा गरिएको मतगणना र त्यसपश्चात घोषित मतपरिणामलाई अवैध ठह¥याएको छ । साथै तत्कालीन समयमा घोषित मतपरिणामका आधारमा चयन भएको जनप्रतिनिधिलाईपनि मतपरिणाम घोषणा भएको एक वर्षपछि अवैध ठह¥याउँदा पुनः मतणना गर्न आदेश दिएको छ । उच्च अदालतले २०८० साल बैशाख २० गते पुनः मतगणना गर्ने मितिपनि तोकिदिएको छ । पुनः मतगणना उच्च अदालतकै रोहवरमा पुनः मतगणना गर्न आदेश दिएको थापाका तर्फबाट बहश गरेका अधिवक्ता सुरेन्द्र थापा मगरले जानकारी दिए ।

तत्कालीन समयमा भएको मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना बिजयी भएका थिए । उनी नेकपा एमालेका पुस्कलबहादुर थापालाई ३ मतको झिनो मतान्तरले पराजित गर्दै बिजयी भएका थिए । बिजयी तिमिल्सिनाले १ हजार ६ सय ४३ मत ल्याएर बिजयी हुँदा पराजित थापाले १ हजार ६ सय ४० मत ल्याएका थिए ।

मतगणना भईरहँदा थापाले ५ मत हराएको भन्दै पुनः मतगणना गर्न माग गरेका थिए । तर निर्वाचन कार्यालयले मतगणना जारी राख्ने निर्णय गर्दै मतगणना गरेपछि थापाले अदालत गुहारेका थिए । उनले हालेको रिटमा सुनुवाई गर्दै अदालतले तत्कालीन समयमा गरिएको मतगणना बदर गर्दै बैशाख २० गते मतगणना गर्न आदेश दिएको उच्च अदालत पोखराको रजिस्टार कार्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।