सन्देश श्रेष्ठ
पोखरा, चैत २३
गण्डकी प्रदेशमा करीब बीस प्रतिशत होटल व्यवसायी पलायन भएका छन् । होटल व्यवसाय महासंघ गण्डकीले कोभिड र त्यसको असरका कारण करीब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो । महासंघको प्रथम ऐतिहासिक महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भने,‘कोभिडले कतिपय पहिल्यै पलायन भइसकेका थिए । त्यसपछि अहिले आर्थिक मन्दी र बैंक ब्याजदरका कारण पलायन हुनेको संख्या बढ्दो छ ।’
व्यवसायी पलायनसँगै मजदुरहरुपनि पलायन हुने क्रम बढेको उनले बताए । यसको प्रभाव स्वरुप दक्ष कामदारको अभाव बजारमा रहेको उनको भनाई छ । ‘व्यवसायी पलायन हुँदा त्यसको प्रत्यक्ष प्रभाव कामदारमा हुने नै भयो । जसका कारण अहिले दक्ष कामदारको अभाव बजारले भोगिरहेको छ’–उनले भने ।
व्यवसायी पलायन भएपनि होटलको संख्या भने बढ्दो रहेको उनले दाबी गरे । देश संघीयतामा गएपछि संघ, प्रदेश र पालिकाले पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनमा भूमिका खेल्दा होटलको संख्या बढेको उनको तर्क छ । उनका अनुसार कोभिड शुरु हुँदाताका गण्डकी प्रदेशमा ६ हजार ५० वटा होटल थिए तर अहिले त्यो संख्या बढेर ८ हजार नाघेको छ । ‘पछिल्लो तथ्याङ्क निकाल्न बाँकी छ, गण्डकी प्रदेशमा दश हजार होटल पुगेको हाम्रो अनुमान छ’–उनले भने । उनका अनुसार गण्डकी प्रदेशमा होटल व्यवसायमा मात्र ६२ अर्बको लगानी छ भने ५४ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
महासंघ गण्डकी प्रदेश अध्यक्ष चोखालले पर्यटन क्षेत्र अहिले धानिनसक्ने अवस्थामा रहेको दाबी छ । कोभिड र त्यसको असरका रुपमा आएको मन्दीले पर्यटन क्षेत्र धरासायी भइरहेको आंकलन भईरहँदा उनले भने,‘पछिल्लो समय पर्यटनमा केहि सुधार आएको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा त बस्ने ठाउँकै अभाव हुनेगरी पर्यटक बढेका छन्, पोखराका लेकसाईड र सिटी क्षेत्रमापनि पर्यटक बाक्लै मात्रामा देखिन थालेका छन् ।’ पर्यटक सरदर हिसाबले राम्रै आगमन भएको दाबी गर्दै उनले थपे,‘पर्यटन क्षेत्र धानिनसक्ने अवस्थामा छ । आगमन एभरेजमा छ । अहिले सर्भाइभ हुने हो कमाउने बेला होईन र सर्भाइभ हुने स्थितिमा पर्यटन क्षेत्र छ ।’ उनले सकारात्मक सन्देश प्रवाह गर्न सकेमा पर्यटन क्षेत्र चाँडै पुरानै लयमा फर्किनेसमेत विश्वास व्यक्त गरे ।
महासंघ अध्यक्ष चोखालले राज्यले पर्यटन क्षेत्रका संघसंस्थालाई विभेदकारी नीति अवलम्वन गरेको आरोप लगाए । सम्पूर्ण होटल व्यवसायीको साझा संस्थालाई भन्दा लेकसाईड क्षेत्रलाई मात्रै समेटेर गठन भएको होटल संघलाई राज्यले प्राथमिकतामा राख्नेगरेको उनको गुनासो छ । ‘राज्यको हेर्ने नजर नै विभेदकारी छ । राज्यको श्रोत र साधनको बाँडफाँटमापनि समानुपातिक वितरण छैन । यो सच्याउन जरुरी छ’–उनले भने । उनले आफूहरुले राज्यसँग सहकार्य गर्न चाहेको बताउँदै त्यसका लागि राज्य सकारात्मक हुनुपर्ने बताए ।
महासंघको प्रथम अधिवेशन यहि चैत २५ र २६ गते पोखरामा हुने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए । महाधिवेशनमा महासंघमा आबद्ध गण्डकी प्रदेशका ११ वटा जिल्लाका संघ र स्थानिय तह एकाईका करीब १ सय २० जना प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







