पोखरा, चैत २५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चाँडै नया पर्यटन ऐन ल्याउने बताएका छन् । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए । मभन्दा जेठो पर्यटन ऐनले केहि लछारपाटो लगाउँदैन, उनले भने,‘त्यसैले यो ऐन फेर्दैछौं । हामी अहिलेको समयसापेक्षित पर्यटन ऐन ल्याउँदैछौं ।’
पर्यटन मन्त्री किराँतीले नया पर्यटन ऐनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने बताए । अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नुपर्नेछ,उनले भने,‘अप्ठेरो पर्ने नीति नियम फुकाउँछु । पर्यटनलाई उद्योगको रुपमा विकास गर्न सकिएन भने पर्यटनको विकास र बिस्तार हुँदैन । त्यसैले यसलाई सम्बोधन गर्न जरुरी छ ।’ उनले पर्यटक भित्राउने भनेको विदेशी रुपैयाँ भित्राउने विषयपनि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्नेमा जोड दिए ।
मन्त्री किराँतीले पर्यटन ऐन बनाउन आफू फाईल लिएर मन्त्रालय पुग्नेदेखि संसदमा बहस गर्नसमेत तयार रहेको बताए । आफू पर्यटन नीति बनाउन तयार भएजस्तै अरुलेपनि आ–आफ्नो जिम्मेवारी भने सम्हाल्नुपर्ने उनको भनाई थियो । उनले भने,‘म पर्यटन नीति बनाउँछु, पर्यटन वोर्डले प्रचारको काम गरोस्, प्रवद्र्धनको काम गरोस् । पर्यटन विभागले संरचनागत काम गरोस् अनि तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ ।’ अहिले एकले अर्कोलाई आरोप लगाएर भाग्ने प्रवृत्ति रहेको भन्दै यो प्रवृत्ति भने त्याग्नुपर्ने उनको भनाई छ । उनले होटलमा सेवा प्रभावकारी नभएको र संस्कृतिपनि विकृतितर्फ उन्मुखहुँदै गएकाले यो सुधार्न जरुरी रहेकोमा जोड दिए ।
मन्त्री किराँतीले अहिले देशमा ठूलो ठूलो कुरा गर्ने तर सानोपनि काम नगर्ने प्रवृत्ति रहेकाले देशले विकास गर्न नसकेको बताए । म बीस वर्ष पछिको कार्यक्रम घोषणा गर्ने पक्षमा छैन,उनले भने,‘म आजको कार्यक्रम घोषणा गर्छु । आज राम्रो भयो भने बीस वर्षपछि त्यसै राम्रो हुन्छ । आज वरको सिन्का पर नसार्ने, तर बीस वर्ष पछाडिको योजना र कार्यक्रम घोषणा गर्ने र लथालिङ्ग बनाउने हाम्रो बानी छ ।’ उनले आफू पाईलट नभई ¥याफ्टिङको यात्री बनेर काम गर्ने बताए । ‘म पाइलट भएर जहाजको ककपिटमा बसेर लामो गन्तव्यमा जान चाहने यात्री होईन । बरु म ¥याफ्टिङको यात्री हुँ, जहाँ सँगै यात्रा गर्न चाहन्छु, अप्ठेरोमापनि सँगै, सजिलोमा पनि सँगै यात्रा गर्ने । ¥याफ्टिङ गर्दा भंगालोमापनि सँगै, पानीको भुमरीमापनि सँगै, सँगै पानीमा भिज्छौं, सँगै मनोरञ्जन लिन्छौं । र सँगै गन्तव्यमा पुग्छौं’–उनले भने ।
मन्त्री किराँतीले पर्यटनबाटै परिवर्तन र विकास सम्भव रहेको बताए । त्यसैले आफूले “घुमौ नेपाल, हेरौं प्रकृती र चिनौं संस्कृति” भन्ने नारासहित पर्यटनको प्रचार अन्र्तराष्ट्रिय स्तरमा लैजान चाहेको बताए । पोखरालाई ब्राण्डिङ र रिब्राण्डिङ गर्नपनि सुझाव दिए । यहाँको प्रकृति र संस्कृतिलाई अन्र्तराष्ट्रिय बजारमा बेच्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा (शेरु)ले पर्यटन क्षेत्रको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने बताए ।
नीति तथा योजना आयोग गण्डकी प्रदेश सदस्य डा.सुवास अधिकारीले पर्यटन क्षेत्रलाई पुरानो लयमा फर्काउनका लागि राज्यले पर्यटन ऐन सच्याउनुपर्ने र नया कार्यक्रम र योजना ल्याउनुपर्ने बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीनाथ ढुंगानाले संघले पर्यटन ऐन नबनाउँदा पर्यटनको विकास र बिस्तारमा समस्या आईरहेको बताए । गण्डकी प्रदेशले पर्यटन ऐन ल्याएपनि संघको नआउँदा समस्या भएकाले चाँडै ऐन ल्याउन संघ सरकारलाई आग्रह गरे ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेलले पर्यटन क्षेत्रमा गुणस्तर कायम गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक सुधार गर्न वोर्ड तयार रहेको बताए ।
होटल व्यवसायी महासंघ वागमती प्रदेश अध्यक्ष दामोदर नेपालले होटल व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण नै खराब रहेको गुनासो गरे ।
होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले राज्यले साना होटल व्यवसायीलाई विभेदपूर्ण व्यवहार गर्नेगरेको आरोप लगाए । विदेशी पर्यटक स्तरीय होटललाई मात्र प्राथमिकता दिने तर साना तथा मझौला होटल व्यवसायीलाई राज्यले विभेद गर्नेगरेको उनको आरोप थियो । उनले विदेशी होस् कि स्वदेशी जुनसुक पर्यटकलाई सेवा दिने होटललाई राज्यले समान रुपमा हेर्नुपर्नेमा जोड दिए ।
गण्डकीमा रहेका करीब ८ हजार होटल तथा रेष्टुरेण्ट व्यवसायीको छाता संस्था होटल व्यवसायी महासंघ गण्डकीमा १७ वटा जिल्लास्थित होटल व्यवसायी संघ तथा समिति आबद्ध छन् । महाधिवेशनले नया नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४३…





