सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित




महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे । उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए ।

“विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री प्रचण्डले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।

“सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ”, उनले भने, “उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।”

दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उनले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।

“तपाईंहरु पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सप्रपना हो”, उनले भने, “कुनैबेला तपाईहरु जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दर्थे ।”

आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री दाहालको भनाइ थियो । “आज मैले देखेको सपना कति पूरा भयो भएन त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ”, उनले भने, “परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौँ कि ।” आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।