पोखरा, चैत २८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिंग्देनले व्यवस्थाका कारण बारम्बार समस्या आइरहेको बताएका छन् । राप्रपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अहिले जतिपनि भ्रष्टाचार र कमिसन काण्डहरु आईरहेका छन् ती सबै खराब व्यवस्थाका कारण आईरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडियो काण्डबारे आफ्नो धारणा राख्दै उनले भने,‘अहिलेको व्यवस्थामै दोष छ । यहि कारण यस्ता खालका घट्ना बारम्बार दोहोरिरहेका छन् ।’ उनले व्यवस्था परिवर्तन नभएसम्म अवस्था परिवर्तन नहुनेसमेत ठोकुवा गरे ।
अध्यक्ष लिंग्देनले आफ्नो पार्टीमा भ्रष्टाचार गर्ने कोहि भएपनि कारवाहीको भागिदार हुने बताए । ‘एक रुपैयाँ मात्रपनि कसैले खाएको प्रमाणित गरे म त्यसको नोकर बस्न तयार छु’–उनले भने । उनले श्रेष्ठको अडियो काण्डबारे अख्तियारले नै छानविन गरिरहेकाले चाँडै यसको सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष लिंग्देनले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक फास्ट ट्रयाकबाट पारित हुन नहुने बताए । सरकार भनेको कुनै एक पार्टी वा एकपक्षीय मात्रैको होईन, उनले भने,‘सरकार सबै पक्षको अभिभावक हो । त्यसैले सबै पक्षलाई बराबरी रुपमा हेर्नुपर्छ ।’ उनले अहिले राज्य एकपक्षीय रुपमा प्रस्तुत भएको हो कि भन्ने देखिएको बताउँदै उनले थपे,‘अहिले एकपक्षलाई मात्रै न्याय दिलाउने, द्वन्द्वका अन्य पीडितहरुलाई उपेक्षा गर्ने र उनीहरुको घाउमा अझ नूनचुक छर्नेगरी राज्य प्रस्तुत भएको छ ।’ उनले द्वन्द्वमा राज्य वा विद्रोही दुबै पक्षमा नलागेका तर सबैभन्दा बढी जनधनको क्षेती ब्यहोरेका बास्तविक पीडित सर्वसाधारण जनता भएकाले उनीहरुलाई न्याय दिलाई छाड्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिंग्देनले सरकारले अर्थतन्त्र सुधारतर्फ ध्यान नदिएको आरोप लगाए । उनले अहिले राज्यका ठूलठूला संस्थान र कम्पनीहरु लगानी गर्नुको सट्टा बैंकमा पैसा राखेर ब्याज खाने संस्थामा परिणत भएको बताए । सरकार नियन्त्रित संस्थान र कम्पनीहरुको ब्याजदर मात्रै घटाउने हो भनेपनि नीजि क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुले तिर्नुपरेको चर्को ब्याजदर घटाउन सकिने अवस्था रहेको उनले बताए । यसले अर्थतन्त्रलाई थोरै भएपनि ट्रयाकमा ल्याउने उनको दाबी छ ।
अध्यक्ष लिंग्देनले कित्ताकाट खुलाउने सरकारको संकेत सकारात्मक रहेको बताए । हिजो कुनै तयारी बिना नै कित्ताकाटमा रोक लगाउँदा खर्बौं राजश्व गुमेकाले यो खुलाउनु सकारात्मक भएको उनको भनाई थियो । उनले जग्गाको वर्गिकरण वैज्ञानिक रुपमा नभईरहेकाले त्यसको काम सकिनुअघि नै कित्ताकाट खुलाउँदा समस्या नहुने जिकीर गरे ।
अध्यक्ष लिंग्देनले उप–चुनाव जनमत बुझ्नका लागि महत्वपूर्ण भएपनि यसले पार्टीको हैसियत र अहिलेको सत्ता समीकरणमा कुनै असर नपार्ने बताए । उनले उप–चुनावमा आफ्नो पार्टीले जित्ने अवस्था नभएपनि मत सुधार हुने विश्वास व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







