बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा. केसी


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित




डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।

डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन् । शाही भन्छन्, “उनी आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएको उनले बताए ।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उनहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भने। डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आउनुभएको थियो । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए ।

डा केसी भन्नुहुन्छ, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए । “उनी एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उनले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भने, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।”

गलकोटमै आँखाको शल्यक्रिया

बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्र्रियामार्फत उपचार गरिएको छ ।

दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ । “दुवै आँखामा मोतियाबिन्दुको समस्या थियो, शल्यक्र्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भने, “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिइनँ, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो ।”

दुवै आँखाको उपचारपछि स्थानीय नन्दी पुनसमेत खुसी हुनुभएको छ । उहाँले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताए । गलकोटस्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट पाँच सय ७५ जना लाभान्वित भएका छन् । आँखा शिविरमा लाभान्वितमध्ये ८५ जनाको आँखाको शल्यक्र्रिया गरिएको थियो ।

गलकोट नपा–७ आँगाखेतमा बिहीबार सम्पन्न तीनदिने निशुःल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आइकेयर फाउन्डेसन र लायन्स क्लब अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नपा–७ को संयोजनामा आयोजना गरेको आँखा शिविरका क्रममा पाँच सय ७५ जनाको आँखा जाँच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए ।

शिविरमा स्थानीय सङ्घसंस्था र महिला समूहले सहयोगी भूमिका निभाएका थिए । आँखामा समस्या भएर देख्न नसक्नेलाई शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डा सल्मा केसीले जानकारी दिए । ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्यलाभ प्रदान गर्न शिविर सञ्चालन गरिएकोे डा केसीले बताए । सेवा लिन गलकोटसहित छिमेकी पालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका बिरामी आएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।