गण्डकी प्रज्ञा साहित्य सम्मान महाकाव्यकार जनार्दनशरण त्रिपाठीलाई अर्पण


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित




वैशाख ८ पोखरा । गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ बाट महाकाव्यकार जनार्दनशरण त्रिपाठी सम्मानित भएका छन् ।

शुक्रबार उनकै निवासमा आयोजित कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्मान अर्पण गरे ।

प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस बैशाख १५ गते विशेष कार्यक्रमबिच सम्मान हस्तान्तरण गर्न खोजिएको भएपनि श्रष्टा त्रिपाठीको अस्वस्थताको कारण उनको घरमा गएर पुरस्कार अर्पण गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले त्रिपाठीले साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरें । उनका सृजनाहरूले साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै ती सृजनाहरूमा सिंगो साहित्य जगतले गर्व गरेको बताए। सृजनाका कुनै मूल्य नहुने भएपनि त्रिपाठीले गरेको योगदानको कदर गरेर गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ अर्पण गरेकोमा आफू निकै हर्षित भएको सुनाए । यस्ता सम्मानले नया पुस्तालाई हौसला मिल्ने मुख्यमन्त्री अधिकारीको विश्वास थियो ।

प्रतिष्ठानका कुलपति सूर्य खड़का बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपकुलपति गोरे गुरुङ, पुरस्कारको बारेमा जानकारी सदस्य सचिव मन कुमार श्रेष्ठ तथा कार्यक्रम संचालन प्राज्ञ कृष्ण प्रसाद पौड़ेलले गरेका थिए । सम्मानित श्रष्टा त्रिपाठीको बायोग्राफी निर्माण कार्य यथाशीघ्र गरीप्रतिष्ठानको वेभसाइट र यूट्यूबमा राखेर उनको योगदान र जीवनीलाई विश्वब्यापी बनाउने प्रतिष्ठानको तयारी छ ।

दोस्रो वार्षिकोत्सबको अवसरमा वितरण गर्ने तय भएका गण्डकी प्रज्ञा साहित्य पुरस्कार, गण्डकी प्रज्ञा संगीत सम्मान, गण्डकी प्रज्ञा कला सम्मान, गण्डकी प्रज्ञा संस्कृति सम्मान, गण्डकी प्रज्ञा नारी सम्मान, गण्डकी प्रज्ञा युवा सम्मान भने गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस बैशाख १५ गते प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा विशेष कार्यक्रम बीच अर्पण गरिने सदस्य सचिव श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।