पाएनन् गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८० मा प्रकाशित




पोखरा, बैशाख ९

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत मागेका थिए । तर उनलाई विश्वासको मत प्राप्त नभएको हो ।

माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमापनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो । अल्पमतमा परेपछि शनिबार प्रदेश सभामा विश्वासको मत माग्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा पक्षमा २४ मत र विपक्षमा ३५ मत परेको थियो । अधिकारीलाई उनको पार्टी नेकपा एमालेका २२ र राप्रपाका २ सांसदले विश्वासको मत दिएका थिए । तर नेपाली कांग्रेसका २७ र नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिएपछि विश्वासको मत लिने उनको प्रयास असफल भएको हो ।

यसअघी अधिकारीले संघका कारण प्रदेशमा विभाजित नहुन आग्रह गर्दै यसअघीको सहयात्री दल नेकपा माओवादी केन्द्रलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले केन्द्रको ईशारामा अकारण आफू नेतृत्वको सरकारलाई दिइएको विश्वासको मत फिर्ता लिइएको गुनासो गरे । यसले संघीयता बलियो नहुने उनको भन्दै उनले स्थिरता र समृद्धिका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे । संघका कारण संघीयता कमजोर बन्दा जनताले संघीयता आवश्यक छैन भन्न थालेको भन्दै उनले भने,‘संघीयता सहि ढंगले कार्यान्वयन भएन । संघले अधिकार दिएन । बनाउनुपर्ने कानून बनाएन । भएका अधिकारपनि खोसेर लग्यो । वित्तीय संघीयतापनि भएन भनेर भनिरहँदा झन् स्थिरता बढ्दो छ ।’ उनले के यस्तै अस्थिरताले संघीयता बलियो हुने हो ? भन्ने प्रश्न विपक्षी दल र नेताहरुलाई सोधे । यस्ता गतिविधीहरुले प्रदेश आवश्यक छैन भन्ने जनसमुदायमा साँच्चै हो कि भन्ने भ्रम परिरहेको उनले बताए । उनले संघको सरकारको संरचना परिवर्तन हुँदा प्रदेशमापनि सोहि अनुरुप गर्ने हो भने प्रदेशमाथि उठेको प्रश्नमा पुष्टी हुने अवस्थामा पुग्ने चेतावनी दिए । त्यस्तो नआओस् भन्ने विषयमा दलहरु गम्भीर हुनुपर्ने उनको भनाई थियो ।

अधिकारीले जनताले स्थिरता चाहेपनि अस्थिर स्वाभावका राजनीतिक नेतृत्वले आफ्नो स्वार्थलाई सर्वोपरी ठान्दा देशमा अस्थिरता निम्तिने गरेको आरोप लगाए । राजनीतिक स्वार्थकै कारण एमालेसँगको गठबन्धन माओवादीले तोडेको आरोप लगाउँदै उनले भने,‘‘राजनीतिक नैतिकता बिर्सेर जसरीपनि सत्तामा पुग्ने । आधार र कारण बेगर जसरीपनि गठबन्धन परिवर्तन गर्दै सत्तामा पुग्न एमालेसँगको गठबन्धन तोडिएको छ । राजनीतिक आदर्शलाई स्वार्थमा बदल्दा संघीयतामा देखिएको अस्थिरताको प्रभाव प्रदेशमा सरेको छ ।’ उनले आफूले स्वार्थ केन्द्रीत राजनीतिक प्रवृत्तिलाई किमार्थ उचित नठान्ने भन्र्द उनले भने,‘भविष्यमा यस किसिमको प्रवृत्ति नदोहोरियोस् ।’

अस्थिरता र अस्थायीत्वले दिक्क बनेका जनताले ब्यबस्था बदलिएपनि अवस्था नबदलिएको कुराले आफूलाई छोईरहेको उनले बताए । उनले नेपालमा छिमेकी वा अन्य राष्ट्रको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शक्ति प्रभाव परेको तथ्यले देखाएको दाबी गरे । नेपालमा भएको राजनीतिक अस्थिरताले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र संघीय लोकतान्त्रिक व्यवस्थामा नै गम्भीर चुनौति उत्पन्न भएको बताए । ‘नेपालमा विदेशीको चलखेल बढिरहेको छ । सरकार बनाउने र गिराउने काममा उनीहरुको प्रत्यक्ष हस्तक्षेप भएको आंकलन गरिरहेका छन्’–उनले भने ।

अधिकारीले सिद्धान्त र ब्यबहार एकातर्फ थन्क्याएर उल्टो बाटो हिंड्दा पुरानालाई होईन, नयाँलाई रोजौं भन्नेहरुले जनतालाई दिग्भ्रमित बनाएर चुनाव जितेको आरोप लगाए । देशका ठूलठूला राजनीतिक परिवर्तनमा कुनै योगदान नगरेका तर जनतालाई दिग्भ्रमित पारेर चुनाव जित्न सकिन्छ भन्ने मानसिकताबाट जन्मेका त्यस्ता पार्टी व्यक्तिवादी पार्टी भएको आरोप उनले लगाए । ‘त्यस्ता पार्टी र तिनका नेतालाई नत हिजोको चिन्ता थियो नत भोलिको चिन्ता छ’–उनले भने । तर ईतिहास बोकेका नेताहरु र लोकतान्त्रिक पार्टी हौं भन्नेहरु त्यस्ता नया पार्टीको सतही क्रियाकलापहरु टुलुटुलु हेरेर बसेको उनको टिप्पणी छ ।

अधिकारीले आफ्नो नेतृत्वको सरकारले छोटो समयमा समृद्धिको यात्रा, सुशासनको यात्रा तथा गण्डकीका जनताको ईच्छा, चाहना र आकांक्षालाई कदर गरेर प्रदेशलाई अब्बल बनाउने प्रयास गरेको जिकीर गरे । यो समयमा पुँजीगत खर्च बढाउने प्रयास गरेको उनले बताए ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशका कारण नभई केन्द्रकै कारण आफूहरुले अधिकारीलाई दिएको विश्वासको मत फिर्ता लिएको स्पष्ट पारे । ‘केन्द्रको रापताप त प्रदेशमा पर्ने नै भयो । एउटै क्याविनेटका अर्को मन्त्रीले संघीयताको विरोध गरेको टुलुटुलु हेरेर बस्दा मन पोलेको थियो । त्यसलाई एमाले अध्यक्ष ओलीलेपनि मलजल गर्नुभयो । त्यसैले अहिले छाडेर ठीकै गरिएछ भन्ने लागिरहेकोछ’–उनले भने । उनले एमाले सुध्रिएछ भनेर सहकार्य गरेको तर त्यसका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु ठीक थियो र आगामी दिनमापनि विघटन हुनसक्ने बताएपछि तर्सिएर गठबन्धन फेरेको बताए । ‘जनयुद्ध दिवसलाई हिंसा दिवस भन्ने पार्टी र तिनका नेतासँग सहकार्य कसरी गर्ने ?’–उनको भनाई थियो ।

चुमानले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भन्ने गरेकोपनि खुलाशा गरे । प्रदेश नामाङ्करणका बेला तत्कालीन प्रधानमन्त्री ओलीसँगपनि परामर्श र छलफल गरौं भन्ने प्रस्ताव गर्दा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री गुरुङले अस्वीकार गरेको उनको भनाई थियो । गुरुङको भनाई उद्धृत गर्दै उनले भने,‘उहाँ (केपी ओली) संघीयताप्रति सकारात्मक हुनुहुन्न । उहाँ प्रदेशलाई बलियो बनाउने कुरामा सकारात्मक हुनुहुन्न, उहाँलाई सोध्नै पर्दैन ।’

गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जस्तै आफूलेपनि वर्तमान मुख्यमन्त्री अधिकारीलाईपनि संघीयता विरोधी ठान्ने गरेको उनको भनाई छ । ‘उहाँ संघीयताप्रति र प्रदेशप्रति सकारात्मक हुनुहुन्न भन्ने ठान्ने म’–उनले भने । तर मुख्यमन्त्री बनेपछि भने अलिकति भएपनि संघीयताको पक्षमा र प्रदेशको पक्षमा अधिकारीले बोल्न थालेको उनले बताए । त्यसलाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाई छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन भएको जिकीर गरे । चुनाव अघि नै गठबन्धन बनाएर मत मागेकाले अब जनतामा गरेका वाचा पूरा गर्नका लागि वर्तमान गठबन्धन उपयुक्त र प्राकृतिक हुने उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।