काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमार्फत फैलाइने आवेग र क्षणिक उत्तेजनाले समाजलाई विकृत बनाउने खतरा रहेको बताएका छन् ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीयसभामा उनले विज्ञान र प्रविधिले विकास गरेका कुरालाई बौद्धिक वर्गले सदुपयोग गर्नेभन्दा क्षणिक आवेगमा प्रयोग हुने गरेको बताए ।
“देशको समग्र राजनीति, आर्थिक विकासको प्रक्रिया विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ । मानिसमा विचार, सिद्धान्त, एजेन्डाभन्दा सेन्टिमेन्ट, क्षणिक आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो छ । यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप जरुरी छ”, प्रधानमन्त्री प्रचण्डले भने, “अहिले वैचारिक बहसभन्दा सामाजिक सञ्जालतिर मानिसको ध्यान छ । त्यसले गर्दा मूलधारका मिडिया नै विस्थापित हुनेजस्तो देखिँदैछ । जसले हिजो लोकतन्त्रका निम्ति, राष्ट्रिय स्वाधिनताका निम्ति लामो भूमिका खेले तिनलाई नै पछि पार्ने गरी विस्थापित गर्ने गरी अराजकता पैदा गर्दैछ । यसमा वौद्धिक वर्गले ध्यान दिनु जरुरी छ ।”
अप्रिल २२ कम्युनिष्ट आन्दोलनको परिचर्चा गर्ने दिन भएको बताउदै प्रधानमन्त्री प्रचण्डले विगतका कमी–कमजोरीको समीक्षा गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई सही नीति, विधिअनुरुप छिट्टै ध्रुवीकरण गर्ने दिशामा लाग्नुपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामा लोकप्रिय भएको बताउँदै सिद्धान्तनिष्ठ एकता आवश्यक भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले नरबहादुर कर्माचार्य सम्मानित व्यक्तित्वमात्रै नभएर क्रान्तिकारी भएर बसेको स्मरण गरे । उनले कर्माचार्य मुस्किल कुरालाई सहज बनाउने पारदर्शी व्यक्तित्व भएको र मजदुर आन्दोलनको प्रत्यक्ष भूमिका निर्वाह गरेको बताए । नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री दाहालले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सुरु गरेको प्राविधिक शिक्षालयलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष, पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टका नाममा धेरै पार्टी हुनु दुःखद् भए पनि कुनै नेताका कारण समस्या आएकाले आन्दोलन अगाडि बढाउन नयाँ पार्टी निर्माण गरेको बताए । उनले कठिन परिस्थितीमा छुट्टै पार्टी बनाएर आन्दोलनमा लाग्नु आफ्नो विकल्प नभएको बताए ।
“कम्युनिष्टका नाममा धेरै पार्टी हुनु दुःखद् हो । तर कुनै नेताका कारण समस्या आएर कम्युनिष्ट आन्दोलन नै अगाडि नबढ्ने अवस्था आउँदा सिद्धान्तअनुरुप अगाडि बढ्न कठिन हुन्छ । यस्तो अवस्थामा प्रतिकूलताका बाबजुद छुट्टै पार्टी बनाएर कम्युनिष्ट आन्दोलनमा लाग्नु राम्रो हो ।” अध्यक्ष नेपालले भने, “धेरै कम्युनिस्ट पार्टी छौँ, एउटै पार्टीका रूपमा हामी मिल्न नसके पनि राष्ट्र र राष्ट्रियताका विषय, देश हित र जनताका हितसँग जोडिएका विषयमा सहकार्य गरेर अगाडि जान सकिन्छ । यसका लागि समाजवादी मोर्चा बनाउन सकिन्छ । विसं २०६२/६३ पछि कम्युनिष्ट पार्टीको हिस्सा दुईतिहाइमा पुगेको थियो, २०७४ को संसद्मा दुईतिहाइ थियो । त्यसलाई बचाउन सकिएन ।”
कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउने काममा लाग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कूटनीतिक कौशलता देखाएर वर्तमान सरकार टिकाउँदै समृद्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







