पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार गठनका लागि विहीबार अपराह्न ४ बजेसम्मको समयसीमा दिएर आह्वान गरेका थिए । पाण्डेले प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए । उनले कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेको एक गरेर ३५ सांसदको हस्ताक्षर बुझाएका थिए ।
दाबी पेश गरेको केहि समयपछि नै प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ भने शुक्रबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यसअघि विश्वासको मत नपाएपछि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो पटक विश्वासको मत पाएपनि दोश्रो पटक भने पाएनन् । नेकपा एमाले र माओवादीको गठबन्धन भत्किएपछि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो । त्यसको २९ औं दिनमा विश्वासको मत लिने उनको प्रयास असफल भएको थियो ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा क्षेत्र नम्बर २ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । देउवा निकट उनी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । लगातार तीन कार्यकाल कांग्रेस केन्द्रीय सदस्य भएका उनले नेपाल विद्यार्थी संघबाट सकृय राजनीति शुरु गरेका थिए । त्रिचन्द्र कलेज काठमाडौंको सभापतिसमेत रहेका उनी कांग्रेसको भातृ संस्था तरुण दलको पूर्व महासचिवसमेत हुन् ।
सरकारको नेतृत्वबारे टुंगो लागेपनि गठबन्धनबीच मन्त्रालय भागवण्डा भने टुंगिसकेको छैन । सात मन्त्रालय कायम राख्ने सहमति भएपनि कसले कुन मन्त्रालय लिने भन्नेबारे सहमति नभईसकेको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ । यद्वपी कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति भएको नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलका सचेतक सुशीला सिंखडाले जानकारी दिईन् । गठबन्धनको अर्को दल नेकपा एसलाई मन्त्री दिने कि नदिने भन्ने टुंगो नलागेको श्रोतले बताएको छ ।
पहिलो कार्यकाल कांग्रेसले पाएको मुख्यमन्त्री दोश्रो कार्यकालमा भने माओवादीले पाउने सहमति भएको बताइएको छ । यसअघि माओवादीले पहिलो कार्यकाल नै मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो । तर केन्द्रीय स्तरमै सहमति भएपछि माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान पाण्डेलाई मुख्यमन्त्री बनाउन सहमत भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







