बालबालिकालाई छुटेको खोप लगाइँदै


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित




स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए ।

उनले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै सञ्चालन गरिएको बताए ।

रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई विभिन्न रोगविरुद्धको खोप लगाइन्छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका, २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएका र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको छ ।

खोप लगाउन छुट भएका सबै बालबालिकालाई खोप लगाई नेपाललाई पूर्ण खोप सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्न थालिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकुकुमार लालले जानकारी दिए। उनले खोप लगाउन छुट्ने क्षेत्रको बच्चा पत्तालगाइ खोप अभियान सञ्चालन गरिने बताए ।

केही जिल्लामा खोप लगाउन छुट भएका बच्चाको सङ्ख्या बढेर दादुरा र रुवेलाको महामारीसमेत देखापरेकाले छुटेको खोप दिन थालेको जनाउँदै मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन पनि आग्रह गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।