गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए सपथ, सरस्वती र सुशीला मन्त्रीमा नियुक्त


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन् ।

यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी हुन् भने उनी समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी हुन्। त्यस्तै, माओवादी केन्द्रकी सिंखडा गोरखा जिल्लाबाट समानुपातिक सांसद हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई कुनैपनि जिम्मेवारी तोकिएको छैन । उनीहरुलाई बिना विभागीय मन्त्रीको हैसियतमा सपथ खुवाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ । दलहरुबीच भागवण्डा नमिलिसकेकाले मन्त्रालय नतोकिएको श्रोतले बताएको छ ।

सपथ समारोहमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, मुख्य सचिव, मुख्य न्यायाधिवक्ता, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, राजनीतिक दलका नेतालगायतका उच्च पदस्थ अधिकारीहरु सहभागि थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।