गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पाठशालाको भवन उद्घाटन


     एभरेस्ट आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा–२२, पुम्दीभुम्दीमा गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुलगाएतका स्वदेशी तथा विदेशी संस्थाद्धारा नवनिर्मित आमाघर पाठशालाको बहुउद्धेश्यिय नयाँभवन शुक्रबार उद्घाटन गरेका छन् ।

उनले भवन उद्घाटन गर्दै निजि र सरकारी विद्यालयको साथ साथै गैरसरकारी संस्थाले पनि सुलभ शुल्कमा उच्चस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्थापना भएको आमाघर पाठशालाको शैक्षिक भविष्य उज्ज्वलको कामना गर्दै विद्यालय वनाउन आर्थिक सहयोग गर्ने नेदरल्याण्डका सहयोगी दाताहरुको पनि प्रशसा गरे ।

साथै सो अवसरमा उनले नेदरल्याण्डमा रहेका लाइट अफ लाइफ फाउन्डेसन तथा वाल सेवा फाउन्डेशन र नेपालमा स्थापना गरिएको नेपाली गाउँका साथीहरु र नेपाल बिकास एकेडेमीका पदाधिकारीलाई सम्मान पत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गरेका थिए ।

कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल वडा भित्र रहेका सबै शैक्षिक, धार्मिक, सामाजिक भवनहरुको संरक्षण तथा विकासमा अभिभावकीय भुमिका खेल्ने बताए ।

नेदरल्याण्डको गैरनाफामुलक गैरसरकारी संस्था बालसेवाका मार्लिन फिसर र रोबर्ट भ्यानले पनि सहयोग लाई निरन्तरता दिने बताउँदै नेपाली गाउँका साथीहरु संस्था, शिक्षक, कर्मचारीलाई धन्यवाद दिए ।

संस्थाका अध्यक्ष डा. नारायण शर्माले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्राबिधिक शिक्षाका साथै इन्जिनियरिङ कलेज बनाउने संस्थाको उद्देश्य रहेको बताए ।

नेपाली गाउँका साथीहरू संस्थाका पूर्व अध्यक्ष गोविन्द उपाध्याय, सचिव मोतीप्रसाद पौडेल, अभिभावकहरु झलक बराल, मन्दिरा बराल लगायतले बोलेका थिए ।

सो अवसरमा संस्थामा दश बर्षदेखि निरन्तर सेवा गर्नुहुने शिक्षक, कर्मचारीहरु तथा नेडरल्याण्डका दाताहरुलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।