पोखरा, बैशाख १६
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसियसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन् । नेपाल मोवाईल वितरक संघको केन्द्रीय साधारण सभालाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले समस्याग्रस्त अर्थतन्त्र बन्नुको मुख्य कारण महंगो ब्याजदर भएको बताएका हुन् । अर्थतन्त्र सुदृढ गर्न ब्याजदर घटाउनै पर्ने बताउँदै उनले भने,‘जबसम्म ब्याजदर घट्दैन तबसम्म अर्थतन्त्र सुदृढ हुँदैन ।’ ब्याजदर घटाउने वित्तिकै बिग्रिएको अर्थतन्त्र ट्रयाकमा आउने उनको दाबी थियो ।
मल्होत्राले ब्याजदर कुनैपनि हालतमा घटाउनुपर्ने बताए । उनले व्यापार ध्वस्त भईसकेपछि कर्जाको ब्याजदर घटाउनुको कुनै औचित्य नहुने बताए । त्यसैले समय छँदै ब्याजदर घटाउनुपर्ने बताउँदै उनले भने,‘व्यापार ध्वस्त भईसकेपछि ब्याजदर घटाएर के फाईदा ! मान्छे बेला नै हो औषधी खुवाउने । मरेपछि त किन खुवाउनु प¥यो औषधी ? ।’
मल्होत्राले बैंकसँग पैसा भएपनि राष्ट्रबैंकको नीतिका कारण कर्जा दिन नसकेको दाबी गरे । अर्थतन्त्र बिग्रिनसकेको बताउँदै उनले ब्याजदर घटाउने हो भने बिस्तारै अर्थतन्त्र सुध्रिने बताए । उनले अहिले कर्जाको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएकाले यसलाई बैंकले पछि तिर्नेगरी मिलाउनुपर्ने बताए । ‘त्यसो भयो भने व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्नका लागि भौतारिनुको सट्टा व्यवसायमा समय दिन थाल्छन् । त्यसो भयो भने व्यवसायीको व्यवसाय सप्रिन्छ र बैंकलेपनि व्याज र किस्ता पाउँछ’–उनले भने ।
मल्होत्राले अबको ३÷४ दिन भित्रमा मोवाईलमा एमडिएमएस लागु हुने दाबी गरे । विदेशबाट फर्किनेले बोक्ने १÷२ वटा मोवाईलको सम्बोधन गर्न केहि समय लागेपनि अब यो समाधानको बाटोमा गएको उनको भनाई छ । नेपालमा ४० देखि ५० प्रतिशत मोवाइल चोरी पैठारीबाट आउँछ,उनले भने,‘यसले गर्दा व्यवसायीले नोक्सानी बेहोर्छ, राज्यले राजश्व गुमाउँछ अनि उपभोक्ता ठगिने गर्छन् । त्यसैले यसको नियन्त्रणका लागि एमडिएमएस लागु गरेरै छाड्छौं ।’
नेपाल मोवाईल वितरक संघका केन्द्रीय अध्यक्ष दीनेश चुल्याद्योले नेपालमा करीब ४ करोड मोवाईल एक्टिभ रहेको र त्यसमध्ये २ करोड मोवाईल चालु अवस्थामा रहेको जानकारी दिए । मोवाईलमा मात्र झण्डै साढे ७ अर्ब लगानी रहेको र करीब ५० हजारले रोजगारी पाईरहेको उनले बताए ।
मोवाईल अत्यावश्यक वस्तु भइसकेको जिकीर गर्दै उनले भने,‘मोवाईल गाँस, बास र कपास जत्तिकै अत्यावश्यक भईसक्यो ।’ उनले अवैध रुपमा भित्रिने मोवाइलका कारण व्यवसाय भने खस्केको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







