धवलागिरिका सहित्यको थप अनुसन्धान आवश्यक


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित




पर्वत । धवलागिरि क्षेत्रको साहित्यिक इतिहास र साहित्यकारका बारेमा थप खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

पर्वत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित ‘धवलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठीमा सहभागिले धवलागिरिका साहित्यका बारेमा थप खोज र अनुुसन्धान गर्नका लागि सामूहिक प्रयास गर्न सुझाव समेत दिए ।

कार्यक्रममा साविकको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा कविता लेख्ने क्रमको सुरुआत भएको प्राचीन अवस्थादेखि आधुनिककालसम्मको अवस्थामा भएका विकासक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल भएको छ । साहित्यका क्षेत्रमा विगतदेखि नै प्रभावशाली लेखक यस क्षेत्रमा रहँदै आएकामा यसको थप विकासका लागि साहित्यिक क्षेत्रमा गर्न सकिने सम्भावनाका बारेमा गोष्ठीमा कुरा राखिएका छन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले साहित्यकार बन्नका लागि सुख प्राप्त हुने ठाउँमा जन्मनुपर्ने नभई खरको छहारीमा जन्मेकै भए हुने बताए। नेपालका झुपडीमा जन्मिएका साहित्यकारले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको जनाउँदै उनले साहित्यकारमा अध्ययनशीलता आवश्यक हुने बताए।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानलाई विकेन्द्रीकरण गरी केन्द्रबाट प्रदेशमा पनि विस्तार गर्दा प्रदेशमा रहेका कला र संस्कृतिको खोजी र अध्ययनमा सहज भएको बताए। प्रतिष्ठान स्थापना भएलगत्तै कोभिडको सङ्क्रमण फैलिँदा सोचेअनुसारको काम गर्न नसकेको भए पनि पछिल्ला दिनमा भने प्रतिष्ठानले हरेक जिल्लामा रहेका कला, संस्कृति र भाषाको संरक्षणमा काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा प्राध्यापक डा षडानन्द पौडेलले विमर्शपत्र प्रस्तुत गर्दै राज्यका निकायले धवलागिरि क्षेत्रका कवि र कवितालाई प्रवद्र्धन गर्न सक्नुपर्ने सुझाव राखे। पार्वतीको जन्मभूमिसमेत रहेको यस क्षेत्र धार्मिक र साहित्यिकरूपमा प्राचीन समयदेखि नै सक्रिय रहेको प्रमाण म्याग्दी राखुदेखि प्रकाशन भएका पुस्तकहरूको रहेको उनको भनाइृ थियो ।

कतिपय प्रमाणले नेपालको साहित्यअन्तर्गत कविता लेखनमा धवलागिरि नै पहिलो भएको प्रमाण देखिएका भए पनि त्यसको आधिकारिक पुष्टि नभएको प्राडा पौडेलको भनाइ थियो ।

प्राध्यापक डा दिनबहादुर थापाले कुनै बेला प्राचीन सभ्यता र संस्कारले भरिएको नेपाल विस्तारै पाश्चात्य शैलीको मारमा पर्दै गएको तर्क गरे । मौलिक रचना र कलामा रमाउने परम्परा छाडेर आफ्ना सन्तान कुनै देशमा पुगेको कुरामा गर्व गर्ने परम्पराले मौलकता सङ्कटमा पर्दै गएको उनको भनाइ थियो ।

धवलागिरि क्षेत्रको साहित्यको विकासमा जनतातिको योगदान पनि महत्वपूर्ण रहेको धेरै उदाहरण भेटिएको जनाउँदै थापाले अब पनि संस्कृतिप्रति चिन्ता नगर्ने हो भने नेपालको मौलिक कला र इतिहास नै सङ्कटमा पर्न सक्ने जोखिम देखाए ।

कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले नेपाली साहित्यको श्रीवृद्धिमा विज्ञहरूले गर्दै आएका काम महत्वपूर्ण रहेको बताए । साहित्यको शक्तिले मानव स्वभावमा परिवर्तन ल्याउन सक्ने जनाउँदै उनले रचनाले व्यक्तिलाई मुग्ध बनाउने उल्लेख गरे ।

पर्वत साहित्य सङ्गमका पूर्वअध्यक्ष राजेन्द्र पहाडीले धवलागिरि क्षेत्रमा स्थापित साहित्यिक रेखामा खोतल्ने मौका दिएको बताए । सोही अवसर पारेर पर्वतका साहित्यकार गोविन्दप्रसाद भुसालको गीति सङ्ग्र्रह ‘पुष्पाञ्जली’ को विमोचन गरिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।