उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित




गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

“रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उनले भने,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न पनि धेरै सहज हुने भएको छ ।”

सडक निर्माण भएसँगै यहाँ अहिले मोटरसाइकल तथा जिप चल्न थालेको छ। अव यहाँबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर आइपुग्न जम्मा आधा घण्टामात्र लाग्ने अध्यक्ष लामाको भनाइ थियो । “नाक्चेतबाट गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउनका लागि मोटररेबल पुल निर्माण गर्नुपर्ने अवस्था छ,” उनले भने,“त्यसका लागि माथिल्लो निकायमा पहल भइरहेको छ ।

यसअघि जगतसम्म नेपाली सेनाले बाटो पु¥याएको थियो । जगतबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर पुग्न दुई घण्टा लाग्ने गरेको थियो ।

नेपाली सेनाले निर्माण गरेको सडक शुक्रबार गाउँपालिका अध्यक्ष लामा र नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी विनोद पाण्डेले शुभारम्भ गरेका थिए । गाउँपालिकाको केन्द्र नजिकै मोटरबाटो पुगेपछि स्थानीयवासी पनि खुसी भएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । हाल नेपाली सेनाले बेनीघाट– रुइलाभज्याङ नाकाको सडकखण्ड खोल्ने काम गरिरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।