नेपाल र युएईको खेल आजका लागि स्थगित


     एभरेस्ट आवाज    
     वैशाख १८ गते २०८० मा प्रकाशित




एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।

नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई ÷दुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक ÷एक विकेट रहयो ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।