फिर्केखोला अतिक्रमण बारे छानबिन गर्न नागरिक समाजको माग


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०८० मा प्रकाशित




पोखरा । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण बारे छानबिन गर्न माग गरेको छ ।

फेवातालको जलाधारका रूपमा रहिआएको फिर्केखोला पछिल्लो समय व्यापक अतिक्रमणको चपेटामा परी दुर्गन्धित ढलमा परिणत हुँदै गएकोमा अख्तियार कार्यालय पोखराको तर्फबाट गम्भीरतापूर्वक छानबिन गर्न ध्यानाकर्षण गरेको हो ।

२०३२ सालको नापनक्सा अनुसार फिर्केखोलाले चर्चेको झन्डै १५० रोपनी जग्गा विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायत जातीय संघ–संस्थाबाट निर्वाधरूपमा अतिक्रमण गरी भोगचलन गरिरहेकोमा आवश्यक कारबाहीका लागि पटक–पटक लिखित ध्यानाकर्षण गराउँदा समेत स्थानीय सरकार, स्थानीय प्रशासन लगायत सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएका भन्दै अख्तियार कार्यालय पोखराको तर्फबाट गम्भीरतापूर्वक छानबिन गर्न माग गरेको नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले बताए ।

नागरिक समाज कास्कीको पहलमा विश्व वातावरण दिवसका अवसरमा फिर्केखोलाको मुहानदेखि फवाताल किनारसम्म तीनवटै सुरक्षा निकाय, तत्कालीन स्थानीय निकाय, विभिन्न संघ–संस्था, हजारौं पोखरेली जनता, तत्कालीन उपमहानगर तथा स्थानीय प्रशासनको सहयोग र सहकार्यमा झन्डै ४ महिनासम्म (२०७३ जेठ २२ गतेदेखि असोज मसान्तसम्म) फिर्के – बुलौदीखोला सफाइ अभियान सफलतापूर्वक सम्पन्न गरेको वातावरण संरक्षणकालागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।