पोखरा, बैशाख २०
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहीबार विश्वासको मत लिदैछन् । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मुख्यमन्त्री बनेको एक हप्तामै विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानमा मुख्यमन्त्री बनेको ३० दिन भित्र विश्वासको मत लिईसक्नुपर्ने ब्यबस्था छ । एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने भएपनि मुख्यमन्त्री पाण्डेले एक हप्तामै विश्वासको मत लिने भन्दै त्यसका लागि व्यवस्था मिलाउन गण्डकी प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् ।
गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने उद्देश्यसहित गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नका लागि मन्त्री परिषदले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरिसकेको छ । मन्त्री परिषदको सिफारिस अनुसार नै प्रदेश प्रमुख गुरुङले बैशाख २१ गते दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन् । अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ ।’
मुख्यमन्त्री पाण्डे तत्काल विश्वासको मत लिने पक्षमा थिएनन् । उनी मन्त्री परिषदको पूर्णता र मन्त्रीहरुको कार्य विभाजन गरेर मात्र विश्वासको मत लिने पक्षमा थिए । तर जति प्रयास गरेपनि पार्टी भित्रबाट बन्ने मन्त्रीको टुंगो लगाउन र नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँटमा सहमति नजुटेपछि उनी मन्त्री परिषदको पूर्णता र मन्त्रीहरुको कार्य विभाजन अघि नै विश्वासको मत लिने निश्कर्षमा पुगेको मुख्यमन्त्री निकट श्रोतले बताएको छ । ‘माओवादीसँगपनि भागवण्डा नमिल्नु अनि आफ्नै पार्टीबाट मन्त्री बन्ने आकांक्षीलाई मिलाउन नसक्दा त्यसको असर विश्वासको मत लिदा पर्नसक्ने अवस्थालाई मध्यनजर गरेर नै मुख्यमन्त्रीले त्यसअघि नै विश्वासको मत लिने तयारी गर्नु भएको हो’श्रोतले भन्यो ।
आफ्नै पार्टीबाट मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मुख्यमन्त्री पाण्डेले मन्त्री परिषद बिस्तार गर्न सकेका छैनन् । त्यतिमात्र होईन मन्त्री परिषद गठन भएको एक हप्ता बित्दासमेत उनले मन्त्रीहरुको कार्यविभाजन गर्न सकेका छैनन् । जसका कारण प्रदेश सरकार गठन भएको पहिलो दिन नै मन्त्री बनेका कांग्रेसकी सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी सुशीला सिंखडाले जिम्मेवारी नपाउँदा बिना विभागीय मन्त्री बनेर कामविहीन भएर बस्नुपरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





