काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।
आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए ।
लोकार्पणमा प्रधानमन्त्री प्रचण्डले भने, “जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ । त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो । तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो ।”
उनले भने, “सङ्घीयताको सफल अभ्यास गरियो । स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए । आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७ दशमलव ५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत्भार कटौती अन्त्य भयो । ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।”
देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







