गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८० मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभाको बहुमत सदस्यले पाण्डेलाई विश्वासको मत दिएका हुन् । गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत दिने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मुख्यमन्त्री पाण्डेलाई ६० सदस्यीय प्रदेश सभाको बहुमत अर्थात ३५ सदस्यले विश्वासको मत दिए । उनलाई आफ्नो पार्टी नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक जनाले विश्वासको मत दिए ।

प्रस्तावको विपक्षमा नेकपा एमालेका २२ प्रदेश सभा सदस्यले मत जाहेर गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका २ प्रदेश सभा सदस्य भने तटस्थ बसे ।

नेकपा एमालेका खगराज नेतृत्वको सरकार बैशाख १२ गते ढलेपछि पाण्डे बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिईसक्नुपर्ने भएपनि उनले एक हप्तामै विश्वासको मत लिएका हुन् । अन्तर पार्टी र पार्टी भित्र विवाद भएपछि मन्त्री परिषदलाई पूर्णता दिनुअघि नै पाण्डे विश्वासको मत लिन हतारिएका हुन् । शुरुमा पाण्डे मन्त्री परिषदको पूर्णता र मन्त्रीहरुको कार्य विभाजन गरेर मात्र विश्वासको मत लिने पक्षमा थिए । तर जति प्रयास गरेपनि अन्तर पार्टीमा मन्त्रालयको भागवण्डा र आफ्नो पार्टी कांग्रेस भित्र मन्त्री बन्ने आकांक्षीको ब्यबस्थापन गर्ने प्रयास असफल भयो । जसको असर विश्वासको मत लिने बेला पर्नसक्ने आंकलन गर्दै उनले त्यसअघि नै विश्वासको मत लिएका हुन् । उसो त स्वतन्त्रबाट जितेर नेकपा एस प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेपनि मन्त्री बन्ने होडमा छन् । सोहि आशमा मनाङेले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुका साथै विश्वासको मतपनि दिएका छन् । तर कांग्रेस मुख्यमन्त्री पाण्डे मनाङेलाई मन्त्री बनाउन तयार भइसकेका छैनन् ।

यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले आफू दलीय स्वार्थ भन्दा माथि रहेर काम गर्ने प्रतिबद्धता जनाए । आफूलाई समर्थन नगर्ने नेकपा एमाले र राप्रपालाईपनि उनले मत मागे । साझा प्रयासबाटै प्रदेशले अगाडि सारेका आयोजना र कार्यक्रम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै उनले भने,‘मुख्यमन्त्री पदमा काम गर्दा दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नेछु ।’ प्रदेशमाथि उठेका प्रश्नको जवाफ प्रदेशले सञ्चालन र सम्पन्न गर्ने कामहरुबाटै हुने भन्दै उनले त्यसलाई सफल बनाउनका लागि सहयोग गर्न उनले आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको सरकारले जनअपेक्षा पूरा गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताए । उनले यसअघिका सरकारले अघि सारेको पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यलाई निश्कर्षमा पु¥याउने प्रतिबद्धता जनाए । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढाइ व्यस्त विमानस्थलका रुपमा विकास गर्ने र यसबाट गण्डकी प्रदेशले अधिकतम आर्थिक लाभ लिने वातावरण सृजना गर्ने उनले उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।