राष्ट्रिय योजना आयोग सदस्य बुढाथोकीद्वारा शपथ


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८० मा प्रकाशित




काठमाडौ । राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका डा. प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिएका छन् । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिएका हुन् । बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त भएका हुन् ।

यसअघि डा श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले यही वैशाख ८ गते बुढाथोकीलाई सदस्य पदमा नियुक्त गरे पनि शपथ भने बाँकी थियो । बुढाथोकीले आजै पदभार ग्रहणसमेत गरेका थिए ।

आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताए ।आयोगको सदस्यका रुपमा यसअघि नै डा रामकुमार फुँयाल, डा जयकान्त राउत, प्रा डा आरपी विच्छा र डा रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसकेका छन् ।

को हुन् बुढाथोकी ?

बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएको व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको ‘रिसोर्स गभर्नेस’मा विद्यावारिधि गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गरेका छन् ।

नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ । बुढाथोकीसित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभवका साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।