‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित




‘मनैदेखि सेवा’ भन्ने नाराका साथ १६०औँ विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ ।

सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभामा ड्युनाको जन्म भएको थियो । ड्युनाले सल्फेरिनोमा भएको युद्धका घाइते सैनिकको बिना भेदभाव गर्नुभएको उद्धार र सेवाले नै सन् १८६३ मा रेडक्रसको जन्म दिएका थिए। सन् १८५९ मा ड्युनाद्वारा लिखित ‘मेमोरी अफ सोल्फेरिनो’ (हृदयस्पर्शी यात्रा संस्मरण ) ले प्रथम नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेको थियो । यस वर्षको नाराले रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपि भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई समग्रमा सङ्केत गर्दछ ।

रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ । यसले प्रत्येक वर्ष सशस्त्र सङ्घर्ष, प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्‍याउन सकेको छ भने यस अभियानको एक सदस्यको रूपमा नेपाल रेडक्रसले वार्षिकरूपमा करिव ३५ लाख व्यक्तिलाई सेवा पु¥याउँदै आएको छ ।

हाल रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्था हो । यस अभियानमा विश्वभरका करिब १० करोडभन्दा बढी व्यक्ति आवद्ध छन् ।

आज यहाँ आयोजित कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का नेपालस्थित राष्ट्रिय प्रतिनिधि मण्डललका प्रमुख अजमत उल्लाले रेडक्रस र रेडक्रसकर्मीले गर्ने काम र पुर्‍याउने सेवा मनैदेखिको हुनुपर्ने बताए ।

उनले भने, “सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिहरुको अवधिमा र त्यस्ता परिस्थिति सङ्कटासन्न मानिसहरुका आवश्यकताको पूर्तिका लागि एवं तिनको जीवन सुधार ल्याउनेजस्ता मानवीय सेवाका कार्यक्रम जारी छ ।”

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)का नेपालप्रमुख सन्देश श्रेष्ठले युद्ध, सशस्त्र सङ्घर्ष र विपद्का बेला नेपाल र विश्वभर रेडक्रसका स्वयंसेवकले मनैदेखि पुर्‍याइरहनुभएको सेवा र सहयोगको प्रशंसा गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।