,

राज्यको नीतिमा नै समेटिएन संस्कृत उच्च शिक्षा


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित




अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा पोखरामा सञ्चालित गोष्ठीमा राज्यको शिक्षा नीतिमा नै संस्कृत उच्च शिक्षा नसमेटिएकामा जोड दिइएको छ ।

दुईदिने गोष्ठीको दोस्रो दिन मङ्गलबार आयोजित ‘संस्कृत उच्च शिक्षामा आकर्षण वृद्धिका आधारहरू’ विषयक छलफलमा शिक्षा नीतिमा नै समावेश नगरी यसलाई मूलधारबाट टाढा राखिएको बताइएको थियो । कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक डा नारायण चालिसेले देशको शिक्षा नीतिमा संस्कृत उच्च शिक्षा नसमेटिएको जनाउँदै यसलाई समेट्नु जरुरी रहेको बताए।

देशव्यापी रुपमा यसको महत्व र विशेषतालाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै उनले यससँग रोजगारीको सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । विद्यालयीय शिक्षामा संस्कृतलाई समेट्दै लैजानु आवश्यक भएकामा जोड दिँदै उनले जनतामा आकर्षण भए पनि यो राज्यको प्राथमिकतामा पर्न नसकेको बताए ।

कार्यपत्र माथि टिप्पणी गर्दै प्राडा शालिग्राम सुवेदीले संस्कृत शिक्षा सामूहिक चेतनासँग जोडिन नसकेको बताए । विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत शिक्षाको संरक्षण र विकासका लागि संस्कृत वाङ्मयमा अध्येता, अनुसन्धाता सबैले सामूहिक प्रयास जारी राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यापीठका पूर्व विद्यार्थी आचार्य लक्ष्मण भण्डारीले जीवन व्यवस्थापन कला विषयक प्रशिक्षण दिएका थिए । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्राध्यापक डा. चूडामणि कँडेलको सभापतित्वमा सम्पन्न कार्यशालाको सहजीकरण सदस्य सचिव उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए।

कार्यक्रमा सहप्राध्यापक सत्यराज सुवेदी, प्राडा यामबहादुर पौडेल क्षेत्री, उपप्राध्यापक सुरज पौडेल, डा. भोलानारायण रेग्मी, सहप्राध्यापक पूर्णचन्द्र वाग्ले, उपप्राध्यापक गणेश सुवेदी लगायतले संस्कृत शिक्षाको महत्वबारे प्रकाश पारेका थिए ।

यसअघिको गोष्ठीको दिन सोमबार ‘संस्कृत उच्च शिक्षामा समसामयिक चुनौती’ विषयक कार्यपत्र सहप्राध्यापक डा. गुरुप्रसाद सुवेदीले प्रस्तुत गरेका थिए। कार्यपत्रमा सहप्राध्यापक डा. शान्तिकृष्ण अधिकारीले टिप्पणी गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले उद्घाटन गरेको गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत वाङ्मयप्रेमी सहित एक सय २५ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।