अनुदान प्राप्त उपआयोजनाको अनुगमन


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित




कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) बाट अनुदान प्राप्त उपआयोजनाको अनुगमन गरिएको छ ।

आयोजनाले सञ्चालन गरेका क्रियाकलापका बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि चार दिवसीय सञ्चार अनुगमन (मिडिया मोनिटोरिङ) सुरु गरिएको कृषि अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए ।

आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको १४ सदस्यीय टोलीले तनहुँ, कास्की र म्याग्दीमा सञ्चालित केही उपआयोजनाको स्थलगत अनुगमनसँगै सरोकारावालाबीच छलफल एवं अन्तक्र्रिया गरिने उनले जानकारी दिए । आयोजनाबाट देशभर पाँच सय ५९ उपआयोजनामा अनुदान सहयोग गरिएको र हालसम्म दुई सय १३ सम्पन्न भइसकेको उनले बताए ।

कार्यक्रमअन्तर्गत बुधबार कुमालटारी कृषि तथा पशु फर्म बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट तनहुँ र दाजुभाइ गाई फर्म व्यास नगरपालिका–१० डिहिकुवा तनहुँको स्थलगत अवलोकनसँगै पशु विकास शाखा शुक्लागण्डकीका पदाधिकारीसँग छलफल एवं अन्तरक्रिया गरिएको थियो ।

अनुगमन टोलीलाई कुमालटारी कृषि तथा पशु फर्मका सञ्चालकद्वय चेतप्रसाद तिवारी र विष्णुप्रसाद अमगाईँ तथा दाजुभाई गाई फर्मका सञ्चालक रमेश तिमल्सिनाले भइरहेका कामबारे जानकारी गराएका थिए । पशु विकास शाखा शुक्लागण्डकीका प्रमुख मुक्ति नेपालीले आयोजनाअन्तर्गत शुक्लागण्डकीमा निर्माण भइरहेको पूर्वाधारसहितको भेटेरिनरी अस्पतालको भवनका सम्बन्धमा जानकारी गराए ।

आयोजनाको अनुगमन मूल्याङ्कन अधिकृत ईश्वरी खतिवडाका अनुसार विभिन्न उपआयोजनाको स्थलगत अनुगमन गरी टोली यही वैशाख ३० गते काठमाडौँ फर्कनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।