वन डढेलो र आगलागी बढ्दै


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८० मा प्रकाशित




आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।

प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए ।

आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे।

यसैगरी जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।