बागलुङ । जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् ।
यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाइमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त बैठकले भाडादर कायम गर्ने प्रावधान भए पनि यातायात व्यवस्था कार्यालयले समयमा अगुवाइ नगर्दा भाडादर तोक्न सकिएको छैन ।
एम्बुलेन्सको भाडा मनपरी लिने गरेको गुनासो र उजुरीपछि जिल्लास्थित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भाडादरमा एकरुपता कायम गराउन पहल गरेको छ ।
यातायात व्यवस्था कार्यालयले भने एम्बुलेन्सको भाडादर तोक्ने बिषयमा स्वास्थ्य कार्यालयलेनै अगुवाइ गर्नुपर्ने बताएको छ । जिल्लास्तरीय भाडादर निर्धारण समितिले निर्णय गर्नुपर्ने भए पनि त्यसको अगुवाइ स्वास्थ्य कार्यालयले नै गर्नुपर्ने कार्यालय प्रमुख पारसिंह थापाले बताए । अन्य सवारी र एम्बुलेन्सको भाडादर तोक्दा आधार भने फरक–फरक हुने थापाको भनाइ थियो ।
जिल्लामा हाल १३ एम्बुलेन्स सञ्चालनमा छन् । सबै एम्बुलेन्सले आफ्नै तरिकाले भाडा लिने गरेकाले बिरामी मर्कामा परेका हुन् । ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि बागलुङ बजार आउँदा एम्बुलेन्सले रू छ हजारसम्म र गलकोट नगरपालिकाको मुकाम हटिया बजारदेखि बागलुङ बजार बिरामी ल्याउँदा रू आठ हजारसम्म भाडा लिने गरेका छन् ।
स्थानीय तहले सञ्चालन गरेका र सामाजिक सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्सका बीचमासमेत भाडादर फरक छ । जिल्लाको दक्षिण क्षेत्र कुश्मीशेरा र बरेङमा सञ्चालनमा रहेका एम्बुलेन्समा पनि भाडाको एकरुपता छैन् ।
कुश्मीशेरादेखि बागलुङ बजारसम्म २१ किलोमिटर पक्की सडकमा रू चार हजार भन्दा धेरै भाडा लिने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका धौलागिरि अस्पताल र तमानखोला गाउँपालिकाले सञ्चालन गरेका दुईवटा एम्बुलेन्स मात्रै तोकिएको मापदण्ड पूरा गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताए ।
स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र अनुसार एम्बुलेन्समा अक्सिजन, जिपिएस प्रणाली, बिरामी र कुरुवा राम्रोसँग सुत्न मिल्ने दुई शय्या, इसिजी मोनिटर, लगायतका २१ उपकरण तथा संरचना अनिवार्य हुनुपर्ने भनिएको छ । सरोकारवालासँग समन्वय गरेर एम्बुलेन्सको स्तरोन्नतिका लागि कार्यालयले पहिलो चरणमा स्थानीयतहसँग विवरण मागेको छ ।
विवरण सङ्कलन भएपछि स्तरोन्नतिका लागि पत्राचार गरिने स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए । यहाँ बागलुङ नगरपालिकामा पाँच, काठेखोला गाउँपालिकामा दुई, वडिगाड गाउँपालिकामा दुई र अन्य स्थानीय तहमा एक÷एक एम्बुलेन्स छन् ।
निसीखोला गाउँपालिकाले भने एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको छ भने जैमिनी नगरपालिकाले थप एक एम्बुलेन्स खरिद गर्दै छ । बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका एक÷एक एम्बुलेन्स बिग्रिएर थन्किएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







